काठमाडौँ । नेपालका मिक्स मार्शल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँट ‘रोड टू अल्टिमेट फाइटिङ च्याम्पियनसिप (युएफसी) सिजन–५’ को सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बिहीबार मकाउमा भएको ब्यान्टम–वेट श्रेणीको खेलमा ढाँटले फिलिपिन्सका किम्बर्ट एलिनटोजनलाई दोस्रो राउन्डमा नकआउट गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन् ।
ढाँट बझाङका हुन् र ‘बझाङको बाघ’ उपनामले परिचित छन् । युएफसीसम्म पुग्ने एमएमए प्रतियोगितामा प्रतिस्पर्धा गर्ने उनी पहिलो नेपाली खेलाडी समेत हुन् ।
उक्त खेल हेर्नका लागि नेपाली दर्शकहरू समेत मकाउस्थित एरेनामा पुगेका थिए ।
अब सेमिफाइनलमा ढाँटले जापानका युनुसुके मिनामी र न्यूजिल्याण्डका कसिब मुर्डोचबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।
यूएफसी प्रवेशका लागि एसियाका शीर्ष फाइटरहरूबीच मकाउमा छनोट प्रतियोगिता जारी छ । प्रतियोगिताका प्रत्येक तौल श्रेणीका विजेताले यूएफसीसँग पूर्ण सम्झौता गर्नेछन् ।