हाल देशमा पश्चिमी तथा स्थानीय वायुका साथै पूर्वी भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण विभिन्न स्थानमा वर्षा, मेघगर्जन, चट्याङ तथा हुरी चल्ने सम्भावना रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखा का अनुसार अहिले देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदली रहेको छ ।
महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेश का केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यतया बदली रहने पूर्वानुमान गरिएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानका साथै अन्य हिमाली तथा पहाडी भू–भाग तथा मधेश प्रदेश सहित कोशी र बागमती प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको छ । त्यसैगरी सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशका तराई र पहाडी भू–भागका केही स्थानमा हुरी चल्न सक्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
आज राति पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रहने तथा अन्य भू–भागमा आंशिक बदली रहने पूर्वानुमान छ ।
महाशाखाले देशका केही तराई तथा पहाडी क्षेत्रमा हुरी, चट्याङ र वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।