भूमि प्रशासन (मालपोत) कार्यालय, पर्सामा किर्ते गरी राजस्व ठगी गरेको अभियोगमा पक्राउ परेका लेखनदास ओम यादवसहित चार जना शुक्रबार पर्सा जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् ।
लेखनदास यादवले एक सेवाग्राहीबाट लाखौँ रुपैयाँ लिएर सोबापत भूमि प्रशासन कार्यालय, पर्सामा बुझाउनुपर्ने लाभकरमा किर्ते गरेको अभियोगमा कार्यालयको लिखित जाहेरीपछि प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानका क्रममा वीरगंज महानगरपालिकामा बुझाइएको घरजग्गा करको रसिदमा चलखेल गरी साढे सात प्रतिशत बुझाउनुपर्ने लाभकरको दर घटाएर भूमि प्रशासन कार्यालय, पर्सामा करिब साढे चार लाख रुपैयाँ राजस्व ठगी गरिएको खुलेको थियो ।
घटना सार्वजनिक भएपछि लेखनदास यादवले सो रकम बैंकमा दाखिला गरेर जोगिने प्रयास गरेका थिए । तर कार्यालय प्रमुखले उनीविरुद्ध लिखित जाहेरी दिएपछि प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको थियो ।
यसै घटनामा गत जेठ १८ गते साँझ भूमि प्रशासन कार्यालयका तीन जना कर्मचारीलाई समेत प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो । तीमध्ये दुई जना मात्र प्रहरीसमक्ष हाजिर भएका थिए ।
जग्गाधनी, लेखनदास यादव र दुई कर्मचारीसहित चार जनालाई शुक्रबार पर्सा जिल्ला अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।