भारतीय नक्कली नोटको कारोबारमा संलग्न रहेको अभियोगमा पटक–पटक पक्राउ परेका युनुस अन्सारी सुटुक्क धरौटी बुझाएर जेलमुक्त भएको खुलेको छ ।
बाराका ५१ वर्षीय अन्सारी वि.सं. २०७६ जेठमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सात करोड ६७ लाख ९४ हजार भारतीय नक्कली नोटसहित पक्राउ परेका थिए । सो मुद्दामा काठमाडौं जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै ६ वर्ष कैद र ६० हजार रुपैयाँ जरिबाना तोकेको थियो ।
सजाय भुक्तान गरी छुट्न लाग्दा उनी २०८२ जेठमा फेरि पक्राउ परेका थिए । नक्खु कारागारबाट सजाय पूरा गरी रिहा हुने क्रममा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई कारागार गेटबाटै नियन्त्रणमा लिएको थियो । त्यसपछि सीआईबीले उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा अदालतले १५ लाख रुपैयाँ धरौटी माग गरेको भए पनि सो रकम नबुझाउँदा उनी पुनः कारागार चलान भएका थिए ।
तर पछिल्ला घटनाक्रमअनुसार अन्सारीले केही समयअघि सुटुक्क अदालतमा धरौटी बुझाएर थुनामुक्त भएको खुलेको छ । सुन्धारा कारागारका जेलर कृष्ण चापागाईंले समेत उनले धरौटी बुझाएर जेलमुक्त भइसकेको पुष्टि गरेका छन् । अन्सारी भारतीय नक्कली नोट कारोबारमा पटक–पटक पक्राउ पर्दै आएका व्यक्ति हुन् । उनी २०६६ सालमा २५ लाख ४४ हजार भारतीय नक्कली नोटसहित पक्राउ परेका थिए भने २०६७ सालमा ४० लाख ९१ हजार नक्कली नोटसहित फेरि पक्राउ परेका थिए, जसमा उनलाई पाँच वर्ष कैद सजाय सुनाइएको थियो ।
त्यसपछि पनि उनी विभिन्न समयमा पुनः पक्राउ पर्दै आएका थिए । २०७० सालमा ३५ लाख नक्कली नोटसहित पक्राउ परेका अन्सारी २०७६ सालमा पुनः ठूलो परिमाणको नक्कली नोटसहित पक्राउ परेका थिए । अन्सारी एमाले नेता तथा पूर्वमन्त्री सलिम मियाँ अन्सारीका छोरा हुन् ।
सम्पत्ति र लगानीबारे अनुसन्धान
सीआईबीको अनुसन्धान अनुसार, नक्कली नोट कारोबारबाट आर्जित रकम उनले सञ्चालित नेसनल टेलिभिजनमा लगानी गरेको देखिएको थियो ।
हाल उक्त टेलिभिजन बन्द अवस्थामा छ । उनका बैंक खातामा करिब १५ लाख ५० हजार रुपैयाँ तथा उनकी श्रीमतीका तीन बैंक खातामा झन्डै तीन करोड रुपैयाँ फेला परेको अनुसन्धानमा उल्लेख छ । साथै पर्सामा चार रोपनी जग्गा समेत उनको नाममा भेटिएको थियो ।
अन्सारीको विदेश यात्रा सन् २००५ बाट सुरु भएको र उनले थाइल्यान्ड, मलेसिया, पाकिस्तान तथा दुबई यात्रा गरेको अनुसन्धानमा खुलेको छ ।
कारागारभित्रै हत्याको प्रयास
सुरक्षाका दृष्टिले संवेदनशील मानिएका अन्सारीमाथि २०६७ सालमा केन्द्रीय कारागार सुन्धाराभित्रै गोली प्रहार भएको थियो । भारतीय नागरिक जसजितसिंह भटियाले तीन पटक गोली चलाउने प्रयास गर्दा अन्ततः एक गोली मात्र लागेर उनी घाइते भएका थिए ।
त्यो घटनामा अन्डरवर्ल्ड डन बब्लु श्रीवास्तवको निर्देशनमा आक्रमण भएको हुनसक्ने प्रहरी अनुसन्धानले देखाएको थियो ।
हाल कहाँ छन् अन्सारी?
प्रहरीका अनुसार अन्सारी हाल नेपालमा नरहेको आशंका गरिएको छ । उनी पुनः पाकिस्तान वा बंगलादेश गएको हुनसक्ने अनुमान अनुसन्धान अधिकारीहरूले गरेका छन् ।
भारतीय नक्कली नोट प्रकरणसँग जोडिएका अन्य विदेशी नागरिकहरू भने अझै कारागारमै रहेको बताइएको छ ।