पर्साको जगरनाथपुर गाउँपालिका वडा नं. ५ स्थित झाखरा चौकमा रामजानकी मन्दिर निर्माण कार्यको बुधबार शिलान्यास गरिएको छ ।
पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले एक कार्यक्रमबीच मन्दिरको शिलान्यास गर्नुभयो । मधेस प्रदेश सरकारको आर्थिक सहयोगमा जगरनाथपुर गाउँपालिकामार्फत निर्माण हुन लागेको उक्त मन्दिरको लागत २५ लाख रुपैयाँ रहेको गाउँपालिकाले जनाएको छ । धार्मिक तथा सांस्कृतिक महत्वलाई संरक्षण गर्दै स्थानीय समुदायको आस्थाको केन्द्रका रूपमा मन्दिर निर्माण गर्न लागिएको हो ।
उपभोक्ता समितिमार्फत निर्माण हुने मन्दिरको काम चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ । गाउँपालिकाका अनुसार आगामी असार मसान्तभित्र निर्माण कार्य पूरा गर्ने योजना छ ।
शिलान्यास कार्यक्रममा बोल्दै प्रमुख अतिथि रिजालले धार्मिक सम्पदाको संरक्षण र विकासले समाजमा सद्भाव तथा सांस्कृतिक पहिचानलाई मजबुत बनाउने बताउनुभयो । उहाँले प्रदेश सरकार र स्थानीय तहको सहकार्यमा भइरहेका विकास निर्माणका कामले ग्रामीण क्षेत्रको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
जगरनाथपुर गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष बिहारी महतो नुनियाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस पर्साका जिल्ला कोषाध्यक्ष प्रेम थापा, क्षेत्रीय कोषाध्यक्ष विनय द्विवेदी, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।