सरकारले महिलालाई लक्षित गर्दै सातवटै प्रदेशमा ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने तयारी अघि बढाएको छ ।
महिलाको सुरक्षित, सहज र सम्मानजनक सार्वजनिक आवागमन सुनिश्चित गर्ने उद्देश्यसहित निःशुल्क सेवा सञ्चालनको तयारी गरिएको हो । सरकारको १ सय दिने कार्ययोजना अन्तर्गत पहिलो चरणमा १ सय दिनभित्र कम्तीमा २५ वटा ब्लु बस सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । त्यसअन्तर्गत काठमाडौँ उपत्यकामा साझा यातायातसँगको सहकार्यमा कम्तीमा सात वटा बस सञ्चालन गर्ने योजना रहेको छ ।
उपत्यका बाहिर भने सबै प्रदेशका यातायात व्यवसायी संघहरूसँग समन्वय गरी कम्तीमा १८ वटा बस सञ्चालन गर्ने तयारी गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ब्लु बस सेवा सञ्चालनका लागि आवश्यक कार्यविधि, समयतालिका, लागत अनुमान तथा सञ्चालन जिम्मेवारीसम्बन्धी मस्यौदा साझा यातायातबाट प्राप्त भइसकेको छ । सो प्रस्तावका आधारमा आवश्यक प्रशासनिक तथा प्राविधिक तयारी अगाडि बढाइएको छ ।
उपत्यकामा ब्लु बस सञ्चालनका लागि साझा यातायातसँग निरन्तर समन्वय भइरहेको छ । सेवा सञ्चालनका विभिन्न विकल्पसहित तयार गरिएको प्रस्ताव मन्त्रालयमा निर्णयका लागि पेस गरिएको छ। सरकारले आगामी आर्थिक वर्षमा सातै प्रदेशमा ब्लु बस सेवा विस्तार गर्ने योजना बनाएको छ। त्यसका लागि आवश्यक बजेट तथा कार्यक्रमसमेत प्रस्ताव गरिएको मन्त्रालयले जनाएको छ ।
ब्लु बस सेवा सञ्चालन भएपछि विशेषगरी विद्यार्थी, श्रमिक, कर्मचारी तथा दैनिक रूपमा सार्वजनिक यातायात प्रयोग गर्ने महिलाहरूलाई सुरक्षित र सहज यात्राको वातावरण उपलब्ध हुने अपेक्षा गरिएको छ । यसले सार्वजनिक यातायातमा हुने दुव्र्यवहार तथा असुरक्षाको अनुभूति न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । यसैबीच, सार्वजनिक यातायातमा महिला तथा बालिकाको सुरक्षालाई ध्यान दिँदै सिसीटिभी र ड्यासक्याम जडानलाई पनि प्राथमिकता दिइएको छ।
प्रगति विवरणअनुसार साझा यातायातका १ सय ११ बस, महानगर यातायातका ४६ बस तथा पाँचपोखरी सुनौलो यातायातका तीन बसमा सिसीटिभी तथा ड्यासक्याम जडान गरी सञ्चालनमा ल्याइएको छ । अन्य सार्वजनिक सवारी साधनमा पनि जडान विस्तार कार्य भइरहेको मन्त्रालयले जनाएको छ । ट्राफिक प्रहरीमार्फत अनुगमन गर्ने व्यवस्था मिलाइएको छ ।
सार्वजनिक सवारीलाई प्रविधिमैत्री, सुरक्षित र यात्रुमैत्री बनाउने मापदण्डको मस्यौदा तयार गरी स्वीकृतिका लागि मन्त्रालयमा पठाइएको छ ।