मधेश प्रदेशको गौरव बढाउँदै पर्साको वीरगंज महानगरपालिका–१७ निवासी युवा खेलाडी सुजित यादवले राष्ट्रिय कुस्ती प्रतियोगिताको ७४ केजी तौल समूहमा स्वर्ण पदक जित्न सफल भएका छन् ।
असार ३ गतेदेखि ५ गतेसम्म मधेश प्रदेशमा आयोजित राष्ट्रिय कुस्ती प्रतियोगितामा सातै प्रदेश तथा तीन विभागीय टोली गरी कुल १० टोलीको सहभागिता रहेको थियो । कडा प्रतिस्पर्धाबीच उत्कृष्ट प्रदर्शन गर्दै यादवले प्रथम स्थान हासिल गरी स्वर्ण पदक आफ्नो नाम गरेका हुन् ।
उनको उत्कृष्ट प्रदर्शनले मधेश प्रदेशको खेलकुद क्षेत्रमा नयाँ उत्साह थपेको छ । साथै, पर्सा जिल्लाका युवा खेलाडीहरूलाई खेल क्षेत्रमा अघि बढ्न प्रेरणा मिल्ने विश्वास गरिएको छ ।
स्थानीय खेलप्रेमी, खेलकर्मी तथा शुभेच्छुकहरूले यादवलाई बधाई दिँदै आगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा समेत सफलताको शुभकामना व्यक्त गरेका छन् ।
सुजितको यो उपलब्धिले मधेशमा परम्परागत रूपमा लोकप्रिय रहेको कुस्ती खेलको विकास, विस्तार र प्रवर्द्धनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।