काठमाडौं । आइतबार दिउँसोदेखि सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा नेतृ डा. तोशिमा कार्कीको एउटा फोटो भाइरल बनेको छ । उक्त फोटोमा उनलाई हातमा अस्थायी गर्भनिरोधक साधन (कन्डम) जस्तो देखिने वस्तु लिएको देखाइएको भन्दै महाधिवेशन स्थलमा निःशुल्क कन्डम वितरण गरेको दाबी गरिएको थियो ।
एउटा राजनीतिक पार्टीको महाधिवेशन स्थलमा खिचिएको भनिएको उक्त तस्विर सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएपछि यस विषयमा चासो बढेको थियो ।
यसैबीच टेकपाना फ्याक्टचेक डेस्कले गरेको अनुसन्धानअनुसार उक्त तस्विर वास्तविक नभई एआई टुल प्रयोग गरी सम्पादन गरिएको पुष्टि भएको छ । अनुसन्धानमा मूल तस्विरमा रहेको वस्तु हटाएर त्यसको स्थानमा कन्डमको प्याकेट राखी भ्रामक रूपमा सम्पादन गरिएको पाइएको छ ।
फ्याक्टचेक निष्कर्षअनुसार मूल फोटोमा देखिएको हाते पंखा हटाई डिजिटल रूपमा सम्पादन गरी गलत सन्देश फैलाउने उद्देश्यले तस्विर भाइरल बनाइएको हो ।


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोशिमा कार्कीको एक तस्विर सामाजिक सञ्जालमा भाइरल बनेपछि गरिएको अनुसन्धानमा उक्त तस्विर एआई टुल प्रयोग गरी सम्पादन गरिएको पुष्टि भएको छ ।
सामाजिक सञ्जालमा फैलिएको उक्त तस्विरमा उनलाई हातमा अस्थायी गर्भनिरोधक साधन (कन्डम) लिएको देखाइएको भन्दै निःशुल्क कन्डम वितरण गरेको दाबी गरिएको थियो। तर तथ्य जाँचका क्रममा उक्त दाबी भ्रामक भएको पाइएको छ ।
अनुसन्धानका क्रममा भाइरल तस्विरलाई ओपनएआईको रिसर्च भेरिफाई टुलमा परीक्षण गर्दा सो तस्विर एआई टुल (च्याटजीपीटी) मार्फत सम्पादन तथा तोडमोड गरिएको देखिएको हो ।
यसैबीच, तस्विर विभिन्न फेसबुक पेज तथा प्रयोगकर्ताले ‘नेपाल फोटो लाइब्रेरी’ लाई उद्धृत गर्दै शेयर गरेको देखिएपछि सम्बन्धित पेजमा पनि खोजी गरिएको थियो। सो क्रममा २१ जुन २०२६ को दिउँसो २:४७ बजे प्रकाशित मिल्दोजुल्दो मूल तस्विर फेला परेको छ ।
‘रास्वपा महाधिवेशनमा डा. तोसिमा कार्कीको संयोजनमा तीन स्थानमा हेल्थ डेस्क’ शीर्षकसहित प्रकाशित उक्त वास्तविक तस्विरमा भाइरल बनाइएको संस्करणमा देखिएजस्तो कन्डम नभई डा. कार्कीको हातमा अन्य सामग्री देखिएको पाइएको छ ।
फ्याक्टचेक निष्कर्ष अनुसार मूल तस्विरलाई डिजिटल रूपमा सम्पादन गरी गलत सूचना फैलाउने उद्देश्यले भ्रामक रूपमा प्रयोग गरिएको पुष्टि भएको छ ।

नेपाल फोटो लाइब्रेरीले खिचेको तस्विरलाई एआई टुलको सहयोगमा तोडमोड गरी भ्रामक रूपमा सामाजिक सञ्जालमा फैलाइएको भन्दै सम्बन्धित पक्षले आपत्ति जनाएको छ ।
नेपाल फोटो लाइब्रेरीका प्रकाशचन्द्र तिमिल्सेनाले आफूहरूले खिचेको आधिकारिक तस्विर अनधिकृत रूपमा सम्पादन गरी असान्दर्भिक बनाउँदै पुनः प्रकाशन गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
उनका अनुसार, “यी तस्बिरहरू नेपाल फोटो लाइब्रेरीका आधिकारिक तस्बिर हुन् । यसमा अनधिकृत रूपमा छेडखानी गरी, भ्रामक सन्देश प्रवाह हुने गरी तथा नेपाल फोटो लाइब्रेरीलाई समेत क्रेडिट दिई फेसबुकमा पोस्ट गरिएको पाइएकाले त्यस्ता सम्पूर्ण पोस्ट तत्काल हटाउन सम्बन्धित सबैमा अनुरोध गर्दछौँ। यदि यस्ता पोस्टहरू निरन्तर रूपमा देखिएमा वा पुनः प्रकाशन गरिएको पाइएमा सम्बन्धित व्यक्ति वा पेजविरुद्ध आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने र यस सम्बन्धमा प्रेस काउन्सिल नेपाल तथा नेपाल प्रहरी साइबर ब्युरोलाई औपचारिक जानकारी गराइनेछ ।”
यसैबीच, उक्त तस्विरबारे प्रतिक्रिया लिन डा. तोशिमा कार्कीसँग सम्पर्क गर्दा उनले नेपाल फोटो लाइब्रेरीले खिचेको आफ्नो तस्विरमा देखिएको वस्तु हाते पंखा भएको स्पष्ट पारेकी छन्।
उनले भनिन्, “यो नियत र सोचाइको विषय हो। त्यसैले हामी समाजकै नैतिक चरित्र र सोचमै परिवर्तन आवश्यक छ भनेर यसरी लागिरहेका छौँ। यसलाई उजुरीको विषय बनाएर ठूलो बनाइराख्नुपर्ने आवश्यकता पनि छैन।”
यस घटनाबाट नेपाल फोटो लाइब्रेरीले खिचेको डा. तोशिमा कार्कीको तस्विरलाई एआई टुलको सहयोगमा तोडमोड गरी भ्रामक रूपमा फैलाइएको पुष्टि भएको छ ।