पर्सामा राजस्व छलीको आशंकामा नियन्त्रणमा लिइएको एक मालवाहक ट्रकबाट ठूलो परिमाणमा प्रतिबन्धित औषधि ट्रामाडोल बरामद भएको छ ।
प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएपछि जाँचका क्रममा एक लाखभन्दा बढी क्याप्सुल ट्रामाडोल फेला परेको हो । वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख ३३४६ नम्बरको मालवाहक ट्रकबाट ठूलो परिमाणमा प्रतिबन्धित औषधि ट्रामाडोल बरामद भएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले असार ८ गते साँझ करिब ७ बजे राजस्व छलीको आशंकामा उक्त ट्रकलाई नियन्त्रणमा लिएको थियो । त्यसपछि ट्रकलाई बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको थियो ।
राजस्व अनुसन्धान कार्यालयमा गरिएको जाँचका क्रममा ट्रकबाट १ लाख २० हजार ६ सय २० क्याप्सुल ट्रामाडोल फेला परेको प्रहरीले जनाएको छ । बरामद औषधिको स्रोत, ओसारपसारमा संलग्न व्यक्ति तथा यसको गन्तव्यबारे थप अनुसन्धान भइरहेको सम्बन्धित निकायले जनाएको छ ।
प्रतिबन्धित औषधिको ठूलो परिमाणमा बरामदीसँगै अवैध कारोबार नियन्त्रणका लागि सुरक्षा निकायले निगरानी थप कडा बनाएको छ ।