पर्साको जगरनाथपुर गाउँपालिका ‘समृद्धिका लागि वन (Forests for Prosperity)’ परियोजनाअन्तर्गत स्थानीय तहमा सञ्चालित कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन गर्दै आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्यसम्पादन मूल्याङ्कनमा मधेश प्रदेशभर प्रथम स्थान हासिल गर्न सफल भएको छ ।
नेपाल सरकारको कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको रेड कार्यान्वयन केन्द्र, बबरमहल, काठमाडौंले वन विकास, वातावरण संरक्षण तथा समुदायको आर्थिक समृद्धिमा पुर्याएको उल्लेखनीय योगदानको उच्च मूल्याङ्कन गर्दै गाउँपालिकालाई प्रशंसापत्रसहित १ लाख २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरेको हो ।
डिभिजन वन कार्यालय सिमरामा आयोजित कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष बबिता सिंह क्षेत्री र प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवलाई पुरस्कार रकमको चेक तथा प्रशंसापत्र हस्तान्तरण गरिएको जगरनाथपुर गाउँपालिकाका वन शाखा प्रमुख पप्पु यादवले जानकारी दिए ।
रेड कार्यान्वयन केन्द्रका राष्ट्रिय परियोजना निर्देशक तथा सहसचिव नवराज पुडासैनीले प्रदान गरेको प्रशंसापत्रमा जगरनाथपुर गाउँपालिकाले स्थानीय स्तरमा वन तथा वातावरण संरक्षणसम्बन्धी कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्दै समुदायको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरिएको छ ।
त्यस्तै, वार्षिक मूल्याङ्कनमा हरिवन नगरपालिका दोस्रो, नवराजपुर नगरपालिका तेस्रो तथा पटेर्वा सुगौली गाउँपालिका चौथो स्थानमा परेका छन् । उनीहरूलाई क्रमशः १ लाख, ७५ हजार र २५ हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरिएको छ ।
कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका उपसचिव प्रकाश थापा, गणेश कार्की, महेश ढुंगाना, वन विज्ञ पशुपतिनाथ कोइराला, मधेश प्रदेश वन निर्देशक जगरनाथ प्रसाद जयसवाल तथा योजना अधिकृत लालबाबु यादवलगायत सरोकारवाला निकायका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।