पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरीमा "स्वस्थ आँखा, उज्यालो भविष्य" भन्ने मूल नाराका साथ एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
आर्थिक रूपमा विपन्न तथा ग्रामीण क्षेत्रका नागरिकलाई सहज र गुणस्तरीय आँखा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो । शिविरमा २ सय ६० जना स्थानीयवासीको निःशुल्क आँखा परीक्षण तथा स्वास्थ्य परामर्श गरिएको छ । वीरगंज सामुदायिक आँखा अस्पतालका स्वास्थ्यकर्मी महेश सिंह धामीसहितको प्राविधिक टोलीले परीक्षण तथा परामर्श सेवा प्रदान गरेको थियो ।
परीक्षणका क्रममा ५२ जनामा मोतियाबिन्दु अर्थात् क्याटार्याक्टको समस्या पहिचान भएको अस्पतालका स्वास्थ्यकर्मी महेश सिंह धामीले जानकारी दिए । धामीका अनुसार ती सबै बिरामीको शनिबार वीरगंज सामुदायिक आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने व्यवस्था मिलाइएको छ ।
शिविर राष्ट्रिय स्वतन्त्र पार्टी बहुदरमाई–८ का वडा सभापति ओमप्रकाश पाण्डेको विशेष पहल तथा बहुदरमाई युवा क्लबको सहकार्यमा सञ्चालन गरिएको हो । शिविरका लागि आवश्यक प्राविधिक सहयोग वीरगञ्ज सामुदायिक आँखा अस्पतालले उपलब्ध गराएको थियो ।
शिविरमा स्थानीय ज्येष्ठ नागरिक, महिला तथा दृष्टिसम्बन्धी समस्या भएका सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो । आयोजक ओमप्रकाश पाण्डेले यस्ता स्वास्थ्य शिविरले ग्रामीण क्षेत्रमा समयमै आँखासम्बन्धी रोगको पहिचान, उपचारको पहुँच विस्तार तथा नागरिकको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।