मौसम पूर्वानुमान महाशाखाले अबको तीनदेखि चार दिनभित्र देशभर मनसुन फैलिने सम्भावना रहेको जनाएको छ ।
महाशाखाका अनुसार आउँदो मंगलबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभागसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण क्षेत्रमा मनसुन विस्तार हुने अनुमान गरिएको छ । यस वर्ष मनसुन सरदर मितिभन्दा ६ दिन ढिला अर्थात् असार ५ गते (जुन १९) पूर्वी नेपालबाट प्रवेश गरेको थियो। त्यसपछि असार ८ गतेसम्म मनसुन गण्डकी र लुम्बिनी प्रदेशसम्म पुगेको थियो ।
हाल मनसुन कमजोर अवस्थामै रहेको महाशाखाले जनाएको छ । देशका बाँकी क्षेत्रमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेकाले पर्याप्त वर्षा हुन सकेको छैन । वर्षा अभावका कारण लुम्बिनीसहित पश्चिम तराईमा गर्मी बढ्नुका साथै धान रोपाइँ पनि प्रभावित भएको छ । आज कोशी प्रदेशको तराई तथा मधेश प्रदेशका केही स्थान, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै, कोशी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा तातो लहरको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।