वीरगंजमा आयोजित नेकोस कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधि कोशी प्रदेशले जितेको छ ।
वीरगंजस्थित नारायणी क्रिकेट मैदानमा आइतबार सम्पन्न फाइनल खेलमा कोशी प्रदेशले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ११ रनले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । कोशीले दिएको ९९ रनको लक्ष्य पछ्याएको एपीएफ १९.५ ओभरमा सबै विकेट गुमाउँदै ८७ रनमा समेटियो। एपीएफका लागि कविता जोशीले सर्वाधिक १४ रन बनाइन् भने रेवती धामीले १२ तथा ममता चौधरीले ९ रनको योगदान दिइन् ।
कोशीका लागि रुबिना चन्दले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिइन् । यस्तै रिया शर्मा र निरु राजवंशीले समान २–२ विकेट लिएपछि एपीएफ लक्ष्यमा पुग्न सकेन । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोशी प्रदेशले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ९८ रन बनाएको थियो। कोशीका लागि काजल श्रेष्ठले सर्वाधिक ३८ रन बनाइन् भने प्रिन्सा रानामगरले १६ तथा रुबिना क्षेत्रीले १२ रन जोडिन् ।
एपीएफका तर्फबाट सबनम राई, सुमन बिष्ट र सीता राना मगरले समान १–१ विकेट लिए । फाइनल खेलकी ‘प्लेयर अफ द म्याच’ कोशी प्रदेशकी काजल श्रेष्ठ घोषित भइन् । उपाधिसँगै कोशी प्रदेशले ट्रफी तथा नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
प्रतियोगिताको समापन समारोहमा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सरोज यादवले विजेता तथा उपविजेता टोलीका खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।