नेपाल – भारत सीमावर्ती क्षेत्रमा सक्रिय अन्तर्राष्ट्रिय मोटरसाइकल चोरी गिरोहविरुद्ध प्रहरीले ठूलो सफलता हासिल गरेको छ ।
रक्सौल अनुमण्डल प्रहरीले चार वटा चोरीका मोटरसाइकलसहित गिरोहका मुख्य सरगनासहित पाँच जनालाई पक्राउ गरेको जनाएको छ । रक्सौलका डीएसपीका अनुसार पक्राउ परेकामध्ये चार जना नेपाली नागरिक रहेका छन्। प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका एक आरोपितको बयानका आधारमा अन्य चार जनालाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार उक्त गिरोहले नेपाल – भारत सीमावर्ती क्षेत्रमा मोटरसाइकल चोरी गरी नेपालमा ल्याएर बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेकाहरूको साथबाट चार वटा चोरी भएका मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको र गिरोहमा संलग्न अन्य व्यक्तिको खोजीसमेत तीव्र पारिएको प्रहरीले जनाएको छ ।