स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले कार्यभार सम्हालेको १०० दिन पूरा भएको अवसरमा मन्त्रालयले हासिल गरेका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेकी छन् ।
शनिबार सार्वजनिक गरिएको प्रगति विवरणमा स्वास्थ्य सेवालाई प्रभावकारी, सुलभ, गुणस्तरीय र नागरिकमैत्री बनाउने उद्देश्यअनुसार विभिन्न नीतिगत तथा संरचनागत सुधारका कार्यहरू अघि बढाइएको उल्लेख गरिएको छ ।
मन्त्रालयका अनुसार ‘निःशुल्क स्वास्थ्य पोर्टल’ सञ्चालनमा ल्याइएको छ, जसमा हालसम्म २१७ वटा अस्पताल आबद्ध भएका छन् । पोर्टलमार्फत ३ हजार २५५ निःशुल्क शय्या व्यवस्थापन गरिएको छ । साथै, बिरामीको स्वास्थ्य अभिलेख एक अस्पतालबाट अर्को अस्पतालमा सुरक्षित रूपमा हेर्न तथा आदान–प्रदान गर्न सकिने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सहकार्यमा ‘राष्ट्रिय एकीकृत स्वास्थ्य सूचना प्रणाली मापदण्ड’ स्वीकृत गरिएको छ ।
अस्पताल सेवामा सुधार ल्याउन ‘अस्पताल सेवा सुधार कार्यविधि, २०८२’ र ‘बिरामी प्रेषण राष्ट्रिय निर्देशिका, २०८१’ लागू गरिएको मन्त्रालयले जनाएको छ । साथै, शासकीय सुधारसम्बन्धी कार्यसूचीलाई पनि तीव्र रूपमा कार्यान्वयन गरिएको उल्लेख छ । सरकारी अस्पतालहरूमा स्वास्थ्य बिमा र निःशुल्क औषधि वितरणलाई एकद्वार प्रणालीमार्फत प्रभावकारी बनाउन ‘सुलभ फार्मेसी सेवा सम्बन्धी मापदण्ड’ लागू गरिएको छ । साथै, नेपाल औषधि लिमिटेडसँग सोझै औषधि खरिद गर्ने सम्झौता गरिएको मन्त्रालयले जनाएको छ ।
प्रगति विवरणअनुसार देशका १४ सङ्घीय अस्पतालमा जलन उपचार युनिट स्थापना गरी सञ्चालनमा ल्याइएको छ भने २० करोड रुपैयाँको जलन उपचार कोष स्थापना गरिएको छ । आकस्मिक उद्धारलाई सहज बनाउन ११ वटा हेलिकप्टर कम्पनीसँग सहुलियत दरमा उद्धार सेवा उपलब्ध गराउने सम्झौता पनि गरिएको छ ।
स्वास्थ्य बिमातर्फ २०८२ मङ्सिरसम्मको दाबीअनुसार अस्पतालहरूलाई १८ अर्ब ५८ करोड ९१ लाख रुपैयाँ भुक्तानी गरिसकिएको मन्त्रालयले जनाएको छ । बिमा प्रणालीमा देखिएका विकृति हटाउन तत्कालीन र मध्यकालीन रणनीति कार्यान्वयन भइरहेको पनि उल्लेख गरिएको छ । मानसिक स्वास्थ्य सेवाको विस्तारका लागि ‘सरकारी अस्पतालबाट मनोपरामर्श सेवा सञ्चालन मापदण्ड, २०८३’ स्वीकृत गरिएको छ । साथै, ११६६ हटलाइनमार्फत मानसिक स्वास्थ्य परामर्श सेवा सञ्चालनमा रहेको मन्त्रालयले जनाएको छ ।
दुर्गम तथा हिमाली क्षेत्रका स्थानीय तहमा हाई अल्टिच्युड क्लिनिक स्थापना गर्न बजेट विनियोजन गरिएको छ । लामो समयदेखि रोकिएको सङ्गठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षण सम्पन्न गरी ९७७ नयाँ सङ्घीय दरबन्दी थपिएको छ । नर्सिङ तथा स्वास्थ्यकर्मीको न्यूनतम तलब तथा रात्रिकालीन भत्ता पनि वृद्धि गरिएको छ ।
खाद्य सुरक्षातर्फ मोबाइल खाद्य प्रयोगशाला भ्यानमार्फत १५ हजार ६९० नमुनाको विषादी अवशेष परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । साथै, ७९औँ विश्व स्वास्थ्य सभामा नेपालले उपाध्यक्षको भूमिका निर्वाह गर्दै अन्तर्राष्ट्रिय स्वास्थ्य कूटनीतिमा महत्वपूर्ण सफलता हासिल गरेको पनि प्रगति विवरणमा उल्लेख गरिएको छ ।