सरकारले हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको प्रक्रिया अघि बढाउँदै नेपाली सेनामार्फत परीक्षण उत्पादनको काम सुरु गरेको जनाएको छ ।
वर्तमान सरकारको १०० दिन पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि परीक्षण उत्पादन भइरहेको जानकारी दिए । उनका अनुसार सरकारले २०८३ असार १८ गतेको मन्त्रिपरिषद् बैठकबाट हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो । उक्त निर्णयसँगै अर्थ मन्त्रालयबाट आवश्यक बजेट निकासा भइसकेको पनि सचिव राउतले बताए ।
सचिव राउतका अनुसार हाल बन्द वा रुग्ण अवस्थामा रहेका सातवटा उद्योगको सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डीडीए) प्रतिवेदन तयार गर्ने काम पनि भइरहेको छ । ती उद्योगहरूलाई भविष्यमा कुन मोडेलमा सञ्चालन गर्ने भन्ने निर्णय डीडीए प्रतिवेदन प्राप्त भएपछि मात्रै गरिने उनले स्पष्ट पारे ।
उल्लेखनीय छ, नेपाल सरकार मन्त्रिपरिषद्को २०६९ माघ १२ गतेको निर्णयअनुसार हेटौँडा कपडा उद्योग खारेज गरिएको थियो । लामो समयपछि सरकारले उद्योगलाई पुनः सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाएको हो ।