जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो १०० दिनलाई सुशासन र संस्थागत सुधारको प्रारम्भिक प्रयासको चरणका रूपमा टिप्पणी गरेका छन् ।
सरकारको सय दिने कार्यप्रगति समीक्षा गर्दै आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सरकारको वास्तविक परीक्षा यसको कार्यान्वयन र त्यसबाट प्राप्त हुने परिणाममा निर्भर हुने बताएका छन् ।
उनका अनुसार सरकारको पहिलो १०० दिन सुशासन सुधार, भ्रष्टाचार नियन्त्रण, प्रशासनिक पुनर्संरचना तथा राज्य संयन्त्रलाई प्रभावकारी बनाउने प्रयासमा केन्द्रित देखिएको छ । ठूला लोककल्याणकारी कार्यक्रमभन्दा पनि शासन प्रणाली सुधार र संस्थागत परिवर्तनलाई प्राथमिकता दिनु सकारात्मक भएको उनको मूल्यांकन छ ।
तर, अहिले नै सरकार सफल वा असफल भएको निष्कर्ष निकाल्नु हतारो हुने भन्दै अध्यक्ष यादवले नीति तथा निर्णयहरूको प्रभावकारी कार्यान्वयन र त्यसले नागरिकको दैनिक जीवनमा ल्याउने परिवर्तनका आधारमा दीर्घकालीन मूल्यांकन हुनुपर्ने बताएका छन् । पूर्व उपप्रधानमन्त्री समेत रहेका यादवले नेपालको विगतबाट पाठ सिक्नु आवश्यक रहेको उल्लेख गर्दै राजतन्त्र अन्त्यपछि स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रप्रति जनतामा ठूलो आशा भए पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको स्मरण गरेका छन् ।
उनले नेपाल अझै पनि लामो राजनीतिक संक्रमणबाट पूर्ण रूपमा मुक्त हुन नसकेको भन्दै शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, रोजगारी, भ्रष्टाचार नियन्त्रण, सुशासन र राजनीतिक स्थायित्वका क्षेत्रमा चुनौती कायम रहेको विश्लेषण गरेका छन् । राजनीतिक दलहरूमा वैचारिक स्पष्टता र उत्तरदायित्व कमजोर हुँदै गएको उल्लेख गर्दै यादवले संस्थागत कमजोरी नै आजको प्रमुख चुनौती भएको बताएका छन् । यद्यपि सुशासन, समावेशी विकास, सामाजिक न्याय र समृद्धितर्फ दिगो रूपान्तरण सम्भव रहेको विश्वास पनि उनले व्यक्त गरेका छन् ।
उनले मधेसी, आदिवासी/जनजाति, दलित, महिला, थारू, मुस्लिम, ओबीसी तथा अन्य पछाडि पारिएका समुदायको सम्मानजनक सहभागिता र अधिकार सुनिश्चित भए मात्र लोकतन्त्र सुदृढ हुने धारणा राखेका छन् ।