गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीलाई कार्यालय समयमा अनिवार्य रूपमा ढाका टोपी लगाउन निर्देशन दिएका छन् ।
स्रोतका अनुसार शुक्रबार राति विमानस्थलको निरीक्षण तथा अनुगमनका क्रममा गृहमन्त्री गुरुङले नेपाली मौलिकता र राष्ट्रिय पहिचान झल्किने गरी कर्मचारीलाई ढाका टोपी लगाउन निर्देशन दिएका हुन् ।गृहमन्त्री गुरुङले नेपाल प्रवेश गर्ने विदेशी नागरिकले सबैभन्दा पहिले विमानस्थल र त्यहाँ कार्यरत अध्यागमन कर्मचारीसँग भेट्ने भएकाले उनीहरूको पोसाक, व्यवहार र सेवा प्रवाहले नेपालको अन्तर्राष्ट्रिय छवि निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
उनले सेवाग्राहीमैत्री, अनुशासित र मर्यादित सेवा प्रवाहका साथै नेपाली संस्कृति, मौलिकता र राष्ट्रिय पहिचानको प्रवर्द्धन गर्ने उद्देश्यले उक्त निर्देशन दिइएको जनाइएको छ ।
यसअघि सरकारले ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका, २०८१’ लागू गरेको थियो । उक्त निर्देशिकाको दफा ५(१) मा सार्वजनिक निकायमा कार्यरत कर्मचारी तथा पदाधिकारीले उपलब्ध भएसम्म स्वदेशी उद्योगबाट निर्मित पोशाक प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै, निर्देशिकाको दफा ५(२) मा सार्वजनिक निकायका पदाधिकारीले कुनै उपहार प्रदान गर्दा पनि स्वदेशी वस्तुको प्रयोग गर्नुपर्ने उल्लेख गरिएको छ ।