भारतको बिहार राज्यअन्तर्गत जहानाबाद जिल्लाको घोसी थाना क्षेत्रमा बालुवा उत्खनन विवादका क्रममा दुई पक्षबीच भएको बन्दुक फायरिङमा ६ जना घाइते भएका छन् ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको भारतिय सञ्चारमाध्यमले जनाएको छ । घटना घोसी थाना क्षेत्रको चैती–पीपर गाउँमा फल्गु नदीबाट बालुवा निकाल्ने विषयलाई लिएर गिन्जी र चैती–पीपर गाउँका स्थानीयबीच विवाद चर्किएपछि भएको हो । विवाद बढ्दै जाँदा दुवै पक्षले अन्धाधुन्ध गोली प्रहार गरेको बताइएको छ ।
प्रहरीका अनुसार एक पक्षबाट अजय राम, दिनेश राम, सुधीर राम, विजय राम र रेशम कुमारी घाइते भएका छन् भने अर्को पक्षबाट गिन्जी गाउँका विष्णु कुमार र रामपुरका सुधीर शर्मा घाइते भएका छन् । घाइतेमध्ये सुधीर शर्माको अवस्था गम्भीर रहेको र उनलाई पीएमसीएच (पटना मेडिकल कलेज अस्पताल) रेफर गरिएको छ ।
घाइते रेशम कुमारीले बताएअनुसार करिब ४०–५० जनाको समूह हतियारसहित आएर अन्धाधुन्ध गोली चलाएको थियो, जसका कारण धेरै जना घाइते भएका हुन् । अर्कोतर्फ, दोस्रो पक्षका अनुसार सुधीर शर्मा बाइकमा घर फर्कने क्रममा गोली लागेर घाइते भएका हुन् । घटनापछि प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ । घोसी एसडीपीओ कृति कमलका अनुसार बालुवा उत्खनन विवादका कारण गोलीकाण्ड भएको हो र दोषीको खोजीका लागि छापामारी जारी रहेको छ ।
घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।