महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक एवं सामाजिक सुरक्षा मन्त्रालयले मन्त्री सिता बादीको नेतृत्वमा कार्यकालको पहिलो १०० दिनमा भएका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेको छ ।
मन्त्रालयका अनुसार सामाजिक सुरक्षा, महिला तथा बाल अधिकार संरक्षण, लैङ्गिक समानता र सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यका साथ विभिन्न नीतिगत तथा कार्यान्वयनका काम अघि बढाइएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो १०० दिनमा दुर्गम क्षेत्रका ज्यान जोखिममा रहेका ३० जना गर्भवती, सुत्केरी तथा नवजात शिशुको हवाई उद्धार गरिएको छ । यससँगै हालसम्म हवाई उद्धार सेवा प्राप्त गर्नेको संख्या ९३९ पुगेको छ । यस अवधिमा ९९ जना सडक बालबालिकाको उद्धार, संरक्षण तथा पुनर्स्थापना गरिएको छ भने हालसम्म २ हजार ६९६ जना सडक बालबालिकाको उद्धार तथा व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ ।
हराएका बालबालिकाको खोजी तथा परिवारसँग पुनर्मिलनलाई पनि प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ । पछिल्लो १०० दिनमा हराएका २ हजार ४४० बालबालिकामध्ये २ हजार ४६ जनाको खोजी गरी परिवारसँग पुनर्मिलन गराइएको छ । हालसम्म हराएका ५५ हजार ८४७ बालबालिकाको खोजी तथा व्यवस्थापन गरिएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
यस अवधिमा लैङ्गिक हिंसा निवारणसम्बन्धी एकीकृत कानून तथा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन संशोधन प्रक्रिया अघि बढाइएको छ । साथै, बालबालिका सम्बन्धी नियमावली, २०७८ संशोधन तथा राष्ट्रिय लैङ्गिक परीक्षण कार्यविधि, २०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको मन्त्रालयले जनाएको छ ।
सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउन मन्त्रालयका सम्पूर्ण प्रशासनिक कार्य GIOMS प्रणालीमार्फत डिजिटल रूपमा सञ्चालनमा ल्याइएको छ । साथै, QR प्रणालीमार्फत मन्त्रीसमक्ष नागरिकले सिधै गुनासो दर्ता गर्न सक्ने र त्यसको तत्काल सम्बोधन गर्ने व्यवस्था पनि लागू गरिएको छ ।
महिला हिंसा हेल्पलाइन ११४५, हराएका बालबालिकाका लागि १०४ तथा बाल हेल्पलाइन १०९८ लाई २४सै घण्टा सञ्चालनमा राखिएको मन्त्रालयले जनाएको छ । यसैबीच, नेपाल रेडक्रस सोसाइटीमा ९ सदस्यीय नयाँ तदर्थ समिति गठन गरिएको छ ।
मन्त्रालयका अनुसार भारतको कोलकातास्थित सोनागाछीबाट नुवाकोटका दुई बालिकाको उद्धार गरिएको छ भने भारतको कुशीनगरबाट ४५३ जनाको उद्धार गरिएको छ । साथै, २२ वटा सङ्घीय मन्त्रालयको पहुँचयुक्तता (Accessibility Audit) सम्पन्न गरिएको, प्रतिनिधिसभा र राष्ट्रिय सभामा साङ्केतिक भाषा दोभाषे तथा क्याप्सनिङ सेवा कार्यान्वयनमा ल्याइएको तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका चार वटा साधारण सम्झौता र २४ वटा परियोजना सम्झौताका लागि सहमति प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्री सिता बादीले कार्यकालको पहिलो १०० दिनमा विभिन्न सरकारी तथा सामाजिक संस्थाको अनुगमनसमेत गरेकी छन् । समाज कल्याण परिषद्को अनुगमनपछि भृकुटीमण्डपस्थित सरकारी सम्पत्तिको संरक्षण गर्न तथा भाडा नतिर्ने पक्षविरुद्ध कानुनी प्रक्रिया अघि बढाउन निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।
यसैगरी, राष्ट्रिय बाल अधिकार परिषद्, पशुपति वृद्धाश्रम, दीर्घकालीन पुनर्स्थापना केन्द्र, सिंहदरबार दिवा शिशुस्याहार केन्द्र, बालसुधार गृह, एसओएस बालग्राम, अटिजम विद्यालयलगायत संस्थामा आकस्मिक अनुगमन गरी सेवा सुधारका लागि आवश्यक निर्देशन दिइएको छ ।
साथै, मुस्कान सेवा बालगृहबाट आठ जना बालबालिकाको सुरक्षित स्थानान्तरण गरिएको तथा बुढानिलकण्ठस्थित इस्कनमा भएको बाल दुर्व्यवहार घटनापछि स्थलगत अनुगमनसमेत गरिएको मन्त्रालयले जनाएको छ ।