काठमाडौं । मुलुकको राजधानी काठमाडौं र मधेशबीचको यात्रा समय छोट्याउने उद्देश्यले निर्माणाधीन काठमाडौं–तराई/मधेश द्रुतमार्ग अब प्रारम्भिक प्रस्तावअनुसार खोकनासम्मै निर्माण हुने भएको छ । पूर्वाधार विकास मन्त्रालयले नेपाली सेनालाई द्रुतमार्ग खोकनासम्म विस्तार गर्न स्वीकृति दिएको हो ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको सचिवालय सदस्य तथा राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजंग थापाको नेतृत्वमा बसेको प्राविधिक समितिले द्रुतमार्गलाई खोकनासम्म निर्माण गर्ने निर्णय गर्दै सेनालाई निर्माण प्रक्रिया अघि बढाउन अनुमति दिएको हो ।
खोकना क्षेत्रमा स्थानीयवासीले धार्मिक, सांस्कृतिक तथा साम्प्रदायिक कारण देखाउँदै जग्गा अधिग्रहणमा असहमति जनाउँदै आएका कारण लामो समयदेखि उक्त खण्डमा निर्माण कार्य अघि बढ्न सकेको थिएन। यही विवादका कारण डुकुछाप–फर्सिडोल–खोकना खण्डको ठेक्का प्रक्रिया पनि रोकिएको थियो ।
मन्त्रालयले अब ६.५ किलोमिटर लामो डुकुछाप–फर्सिडोल–खोकना खण्डलाई दुई प्याकेजमा विभाजन गरेर निर्माण अघि बढाउने निर्णय गरेको छ। यसअन्तर्गत मुआब्जा विवाद कम रहेको ३.३ किलोमिटर डुकुछाप–फर्सिडोल खण्डमा तत्काल ठेक्का प्रक्रिया अघि बढाइनेछ भने बाँकी ३.२ किलोमिटर फर्सिडोल–खोकना खण्डमा जग्गा अधिग्रहण र मुआब्जा प्रक्रिया अगाडि बढाइनेछ ।
अर्जुनजंग थापाका अनुसार डुकुछापसम्म मात्र द्रुतमार्ग निर्माण गर्दा आयोजनाको उद्देश्य पूरा नहुने भएकाले प्रारम्भिक अवधारणाअनुसार खोकनासम्मै निर्माण गर्ने निर्णय गरिएको हो । उनले द्रुतमार्गलाई चोभारस्थित सुख्खा बन्दरगाहसँग जोड्ने योजना पनि अघि बढाइएको जानकारी दिए ।
डिजाइनमा गरिनेछ परिमार्जन
मन्त्रालयका अनुसार पुरानो डिजाइनमा केही परिमार्जन गरी स्थानीय धार्मिक तथा सांस्कृतिक सम्पदामा असर नपर्ने गरी नयाँ रेखांकन तयार गरिएको छ । डुकुछाप–फर्सिडोल खण्डमा बागमती नदीमाथि करिब ४०० मिटर लामो पुल निर्माण गर्ने प्रस्ताव गरिएको छ ।
यस्तै, फर्सिडोल–खोकना खण्डमा सडकलाई खेतभन्दा खोलातर्फ सारेर निर्माण गरिनेछ, जसबाट सिकाली मन्दिरलगायत स्थानीय धार्मिक गतिविधिमा कुनै अवरोध नपर्ने बताइएको छ ।
लिंक सडक सडक विभागले बनाउने
नयाँ योजनाअनुसार मुख्य द्रुतमार्ग खोकनासम्म नेपाली सेनाले निर्माण गर्नेछ भने द्रुतमार्गलाई चोभार सुख्खा बन्दरगाह र बाहिरी चक्रपथसँग जोड्ने लिंक सडक निर्माणको जिम्मेवारी सडक विभागलाई दिइने भएको छ ।
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि काठमाडौं–तराई/मधेश द्रुतमार्ग आयोजनामा १७ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
करिब आधा मात्र सम्पन्न
नेपाली सेनाका अनुसार जेठ मसान्तसम्म आयोजनाको भौतिक प्रगति ४८.१२ प्रतिशत र वित्तीय प्रगति ४८.६९ प्रतिशत पुगेको छ । चालु आर्थिक वर्षका ११ महिनामा भने भौतिक प्रगति करिब ७ प्रतिशत मात्रै भएको छ ।
२०८३ चैत मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहे पनि आधाभन्दा बढी काम बाँकी रहेकाले सेनाले आयोजनाको म्याद थप तीन वर्ष लम्ब्याउने प्रक्रिया अघि बढाएको छ ।
करिब २ खर्ब १२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस आयोजना नेपाली सेनाले जिम्मा लिएपछि दुईपटक म्याद थप भइसकेको छ । प्रारम्भिक रूपमा २०७८ वैशाखभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना डीपीआर निर्माणमा भएको ढिलाइका कारण पहिलोपटक २०८१ मंसिरसम्म र त्यसपछि २०८३ चैतसम्मका लागि म्याद थप गरिएको थियो ।