सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि बयान दिन बोलाएको छ ।
विभागले मंगलबार सार्वजनिक सूचना जारी गर्दै जयवीरलाई पुल्चोकस्थित केन्द्रीय कार्यालयमा उपस्थित हुन सात दिनको समय दिएको हो । सम्बन्धित व्यक्तिको ठेगानामा सम्पर्क हुन नसकेपछि प्रचलित कानुनअनुसार सार्वजनिक सूचना जारी गरिएको विभागले जनाएको छ ।
अनुसन्धान अधिकारीहरूले यसअघि सोमबार बूढानीलकण्ठस्थित जयवीरको स्थायी ठेगानामा पुगेर उपस्थित हुन पत्र टाँस गरेका थिए । विभागले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ७१ अनुसार उनलाई बयानका लागि बोलाएको जनाएको छ ।
तोकिएको समयभित्र बयानका लागि उपस्थित नभए कानुनबमोजिम थप प्रक्रिया अघि बढाइने विभागले चेतावनी दिएको छ । जयवीरमाथि नेपाल टेलिकमको बिलिङ प्रणालीको ठेक्का तथा राहदानी छपाइ प्रक्रियासँग सम्बन्धित भनिएका वित्तीय अनियमितताबारे उजुरी परेको थियो । सोही उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले संयुक्त रूपमा अनुसन्धान गरिरहेको जनाइएको छ ।
यसअघि यही अनुसन्धानको सिलसिलामा विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवाका नाममा समेत पुर्जी जारी गरेको बताइएको छ ।