काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु भएको छ ।
मंगलबार खानेपानी मन्त्री प्रदीप यादवले सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्रबाट पानी वितरण कार्यक्रमको शुभारम्भ गरे ।
मेलम्चीको पानी अहिले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का विभिन्न वितरण शाखाहरूमा पठाइएको छ, र ती शाखाहरूबाट पानी वितरण प्रक्रिया सुरु गरिनेछ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेका अनुसार, मन्त्री यादव र मेलम्ची संघर्ष समितिबीच सोमबार राति भएको वार्ता सफल भएपछि पानी पथान्तरण गरिएको हो ।
खानेपानी मन्त्री यादवले दसैंअघि काठमाडौंबासीलाई मेलम्चीको पानी उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए। यसै सन्दर्भमा मेलम्ची संघर्ष समितिसँग वार्ता गरी आन्दोलन स्थगन गर्न सहमति भएपछि मेलम्चीको पानी सुन्दरीजलमा ल्याइएको हो ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी निर्देशक अशोक पौडेलले मेलम्चीको सफा र शुद्ध पानी अब छिट्टै काठमाडौंबासीका धारा-धारामा पठाइने जानकारी दिए। मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आपूर्ति हुने र यसले उपत्यकाका पानी अभावमा राहत पुग्ने बताइएको छ ।