जनकपुरधाम | श्रम तथा रोजगार कार्यालय जनकपुरधामले श्रमसम्बन्धी कानुनी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन भए–नभएको अवस्था बुझ्न निजी व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्था तथा अस्पतालहरूमा अनुगमनलाई तीव्र बनाएको छ ।
कार्यालयले पछिल्लो समय जनकपुरधामस्थित निजी अस्पतालहरूमा विशेष निगरानी अभियान सञ्चालन गरिरहेको छ । सोही क्रममा मङ्गलबार जनकपुरधाम–१, स्टेसन एरियामा रहेको धनुषा अस्पतालमा श्रमसम्बन्धी व्यवस्थाको अनुगमन गरिएको हो ।
श्रम तथा रोजगार कार्यालयका निमित्त प्रमुख रञ्जित यादवका अनुसार अनुगमनका क्रममा कर्मचारीहरूले नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक पाए–नपाएको, रोजगार सम्झौता गरिएको अवस्था, सामाजिक सुरक्षा कोषमा आबद्धता तथा श्रम ऐनको पालना भए–नभएको विषयमा व्यवस्थापन पक्ष र कर्मचारीसँग छलफल गरिएको छ ।
उनले अनुगमनका क्रममा देखिएका कमजोरीबारे सम्बन्धित संस्थालाई आवश्यक सचेत गराउँदै सुधारका लागि निर्देशन दिइने र निर्देशनको पालना नगरे कानुनी कारबाहीका लागि सिफारिस गरिने बताए ।
यादवका अनुसार हालसम्मको अनुगमनबाट अधिकांश निजी प्रतिष्ठानमा कार्यरत कर्मचारीहरूले सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिकसमेत नपाएको तथा सामाजिक सुरक्षा कोषसम्बन्धी पर्याप्त जानकारी र पहुँचको अभाव रहेको पाइएको छ ।
कार्यालयले अनुगमनलाई केवल निगरानीमा सीमित नराखी श्रमिक र रोजगारदातालाई श्रम अधिकार, श्रम ऐन तथा कानुनी दायित्वबारे सचेत गराउने अभियानका रूपमा समेत सञ्चालन गरिरहेको जनाएको छ ।
श्रम तथा रोजगार कार्यालयका अनुसार आगामी दिनमा अनुगमनलाई अझ प्रभावकारी बनाइ जनकपुरधाममा मात्र सीमित नराखी धनुषा, महोत्तरी, सर्लाही, सिराहा र सप्तरी जिल्लाका निजी प्रतिष्ठानहरूमा समेत निरन्तर सञ्चालन गरिनेछ ।