नेपाल–भारत मितेरी पुलबाट एक शंकास्पद बङ्गलादेशी नागरिकलाई नियन्त्रणमा लिइएको छ ।
भारतबाट नेपाल प्रवेश गर्न लागेका बङ्गलादेशको ढाका जिल्लाको मुन्सिगञ्ज स्थायी ठेगाना भएका २७ वर्षीय एमडी शियाम होसैनलाई भारतीय सुरक्षा टोलीले नियन्त्रणमा लिएको हो । सीमावर्ती नाकाको सुरक्षार्थ खटिएको भारतको बीआईटी (BIT) टोलीले उनलाई शंकास्पद अवस्थामा नेपाल प्रवेश गर्न खोजिरहेको बेला नियन्त्रणमा लिई थप अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाएको जनाएको छ ।
प्रहरीका अनुसार भारतबाट पैदल नेपाल प्रवेश गरिरहेका होसैनलाई सोधपुछका क्रममा उनी अस्वाभाविक रूपमा आत्तिएका थिए। प्रारम्भिक चरणमा उनले मोबाइल फोनमा रहेको परिचयपत्र देखाएका थिए भने राहदानीको हार्डकपी मागेपछि केही समयपछि झोलाबाट राहदानी निकालेर प्रस्तुत गरेका थिए ।
सोधपुछका क्रममा उनको परिचय एमडी शियाम होसैन (Md. Shiam Hossain), जन्ममिति २२ अगस्ट १९९८ तथा स्थायी ठेगाना मुन्सिगञ्ज, ढाका, बङ्गलादेश रहेको खुलेको बताइएको छ। उनीसँग रहेको बङ्गलादेशी राहदानी सन् २०२० मा जारी भएको र सन् २०३० सम्मका लागि वैध रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। त्यसैगरी, नेपाल प्रवेशका लागि प्राप्त गरेको भिसा सन् २०२६ अप्रिल १४ मा जारी भएको र मे १३, २०२६ सम्मका लागि वैध रहेको भारतीय प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनले थाइल्यान्ड, संयुक्त अरब इमिरेट्स (यूएई), चीन, मलेसिया, भारत तथा नेपाललगायत विभिन्न देशहरूको भ्रमण गरेको विवरण समेत खुलेको छ । सुरक्षा निकायका अनुसार उनीसँग विभिन्न देशका सिमकार्ड, डेबिट कार्ड, विद्युतीय झट्का दिने उपकरण (स्टन डिभाइस/इलेक्ट्रिक शकर) लगायत अन्य सामग्री बरामद भएको छ। बरामद सामग्रीको प्रकृति तथा प्रयोगको उद्देश्यबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै बीआईटी टोलीले थप सोधपुछ तथा अनुसन्धानका लागि उनलाई हरैया प्रहरी चौकीको जिम्मा लगाएको भारतीय सुरक्षा अधिकारीहरूले बताएका छन् ।