जबरजस्ती करणी तथा ठगीको आरोपमा जनमत पार्टी सप्तरीका कोषाध्यक्ष नरेश अधिकारी पक्राउ परेका छन् ।
अधिकारीविरुद्ध परेको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी हेमराज घिमिरेका अनुसार अधिकारीविरुद्ध जबरजस्ती करणी र ठगीसम्बन्धी उजुरी दर्ता भएपछि उनलाई नियन्त्रणमा लिइएको हो । अदालतबाट म्याद थप गरी घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सप्तरीको महादेवा गाउँपालिका–२ निवासी अधिकारी केही दिनदेखि फरार रहेका थिए । खोजतलासका क्रममा उनलाई मंगलबार दिउँसो महादेवापट्टी क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।