मलेसियामा जारी एसिसी यू–१९ महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ ।
समूह ‘डी’ अन्तर्गत आइतबार भएको खेलमा नेपालले सिङ्गापुरलाई १ सय ५१ रनको फराकिलो अन्तरले पराजित गरेको हो । नेपालले दिएको २ सय रनको विशाल लक्ष्य पछ्याएको सिङ्गापुर निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ४८ रनमा समेटियो। सिङ्गापुरका लागि अङ्कितावर्षा राजले सर्वाधिक १९ रन बनाइन् । नेपालका लागि अनु कडायतले ३ विकेट लिइन् भने मनिषा उपाध्याय र रिया शर्माले समान २–२ विकेट हात पारिन्। कप्तान सोनी पाख्रिनले १ विकेट लिइन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा विकेट नगुमाई १ सय ९९ रनको विशाल योगफल तयार गरेको थियो । नेपालका लागि ओपनर सना प्रवीणले अविजित ९८ रनको उत्कृष्ट इनिङ्स खेलिन् भने अर्की ओपनर सावित्री धामीले ७४ रनको योगदान दिइन् । नेपालले समूह चरणको अन्तिम खेल मंगलबार हङकङसँग खेल्नेछ । लगातार दोस्रो जितसँगै नेपाल क्वार्टरफाइनल प्रवेशको नजिक पुगेको छ ।
प्रतियोगितामा नेपालसहित १३ राष्ट्रको सहभागिता रहेको छ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा थाइल्यान्ड, म्यान्मार र जापान रहेका छन् भने समूह ‘बी’ मा यूएई, ओमान र भुटान रहेका छन् । यस्तै, समूह ‘सी’ मा इन्डोनेसिया, मलेसिया र कुवेत तथा समूह ‘डी’ मा नेपाल, हङकङ, सिङ्गापुर र कतार रहेका छन् ।
समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । त्यसपछि चार टोली सेमिफाइनल र दुई टोली फाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल खेल साउन २ गते हुनेछ ।