प्रतिनिधिसभा सदस्य हरि पन्तले पथलैया–वीरगंज औद्योगिक करिडोरमा सञ्चालित उद्योगहरूबाट निस्कने रासायनिक तथा विषाक्त फोहोर पानी प्रशोधन नगरी सिधै सिर्सिया नदीमा मिसाइँदा नदी दुर्गन्धित नालामा परिणत भएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ ।
सभामुखमार्फत सदनमा आफ्नो धारणा राख्दै सांसद पन्तले सदियौँदेखि वीरगंज हुँदै बग्दै आएको ऐतिहासिक तथा प्राचीन सिर्सिया नदी औद्योगिक प्रदूषणका कारण अस्तित्व संकटमा परेको बताउनुभयो । उहाँले उद्योगहरूको हेलचेक्र्याइँ र लापरबाहीका कारण कुनै समय लोकआस्थाको महान् पर्व छठमा सिर्सिया नदीकै पानीमा उभिएर अर्घ्य दिने गरिए पनि अहिले दुर्गन्धका कारण छठ पर्वका बेला त्यहाँ खुट्टा टेक्नसमेत कठिन हुने अवस्था सिर्जना भएको उल्लेख गर्नुभयो ।
सांसद पन्तका अनुसार सिर्सिया नदी अहिले लामखुट्टेको प्रमुख प्रजनन केन्द्रसमेत बनेको छ । नदी आसपासका बस्तीमा दुर्गन्ध र लामखुट्टेको समस्याका कारण स्थानीयवासी राति चैनसँग सुत्नसमेत नसक्ने अवस्था रहेको उहाँले बताउनुभयो । उहाँले पछिल्ला केही वर्षदेखि देखिएको यस समस्यालाई संघीय, प्रदेश तथा स्थानीय सरकारले चुनावी घोषणापत्र र नारामा मात्रै सीमित गरेको आरोप लगाउँदै समस्या समाधानका लागि प्रभावकारी पहल हुन नसकेको टिप्पणी गर्नुभयो ।
सांसद पन्तले वीरगंज क्षेत्रका नागरिकले सिर्सिया नदीको सफाइ र पुनर्जीवनका लागि वर्तमान सरकारसँग ठूलो अपेक्षा राखेको उल्लेख गर्दै नदी संरक्षण तथा पुनर्स्थापनाका लागि यथाशीघ्र ठोस कदम चाल्न सरकारसँग माग गर्नुभयो ।