काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले सन् २०२८ मा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकपका लागि सिधै ग्लोबल छनोट प्रतियोगिता खेल्ने अवसर प्राप्त गरेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको नयाँ विश्वकप छनोट संरचनाअनुसार नेपालले यसपटक एसियाली क्षेत्रीय छनोटका प्रारम्भिक चरणका खेल खेल्नुपर्ने छैन । नयाँ व्यवस्थाले नेपाललाई विश्वकप छनोटको यात्रामा एक चरण सहज बनाएको छ ।
आइसिसीको नयाँ प्रावधानअनुसार सन् २०२६ को टी–२० विश्वकपमा सहभागी भएका तर सन् २०२८ को संस्करणका लागि स्वतः छनोट हुन नसकेका टोलीहरूले सिधै ग्लोबल छनोट प्रतियोगितामा स्थान पाउनेछन् । नेपाल सन् २०२६ को विश्वकपमा समूह चरणबाट बाहिरिए पनि यही व्यवस्थाका कारण ग्लोबल छनोटमा प्रत्यक्ष प्रवेश पाएको हो ।
ग्लोबल छनोटमा नेपालसहित स्वतः छनोट भएका टोलीहरूसँगै विभिन्न महादेशीय छनोट पार गरेर आएका आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । आइसिसीका अनुसार अफ्रिका, एसिया र युरोपबाट दुई–दुई टोली तथा अमेरिका र पूर्वी एसिया–प्रशान्त क्षेत्रबाट एक–एक टोली ग्लोबल छनोटमा पुग्नेछन् ।
ग्लोबल छनोट प्रतियोगितापछि प्रत्येक क्षेत्रबाट उत्कृष्ट एक–एक टोली तथा समग्र प्रतियोगिताका उत्कृष्ट थप तीन टोली गरी कुल सात राष्ट्रले सन् २०२८ को आइसिसी पुरुष टी–२० विश्वकपमा स्थान बनाउनेछन् ।
नयाँ छनोट प्रणालीसँगै नेपालले क्षेत्रीय प्रारम्भिक छनोट खेल्नुपर्ने बाध्यता हटेको छ भने विश्वकपमा स्थान बनाउन अब ग्लोबल छनोटमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने चुनौती रहनेछ ।