फेक फेसबुक र म्यासेन्जर आईडी बनाएर एक व्यक्तिबाट दुई लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार २०८३ जेठ २६ गते बाराको फेटा गाउँपालिका–४ घर भई हाल वीरगंज महानगरपालिका–१६ मा बस्दै आएका ४९ वर्षीय शिवपुजन बैठासँग अनलाइन माध्यमबाट ठगी गरिएको थियो ।
प्रहरीका अनुसार वैदेशिक रोजगारीका सिलसिलामा बेलायतको लन्डनमा रहेका रौतहटका संजय पटेलको नाम र तस्बिर प्रयोग गरी फेक फेसबुक खाता तथा म्यासेन्जर आईडी बनाइएको थियो । उक्त फेक म्यासेन्जरबाट “म समस्यामा छु” भन्दै बहाना बनाई शिवपुजन बैठालाई झुक्याएर दुई लाख ५० हजार रुपैयाँ ठगी गरिएको प्रहरीले जनाएको छ ।
घटनापछि पीडितले जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन दिएसँगै प्रहरीले अनुसन्धान सुरु गरेको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा सर्वसाधारणलाई प्रलोभनमा पारेर विभिन्न व्यक्तिको नाममा बैंक खाता र सिमकार्ड सञ्चालन गरी अनलाइन ठगीमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका–१ निवासी २० वर्षीय जस्मुदिन अन्सारी र पर्साको बहुदरमाई नगरपालिका–१ निवासी २० वर्षीय विशाल पटेल रहेका छन् ।
उनीहरूलाई २०८३ साउन २ गते वीरगंज महानगरपालिका–८ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीले उनीहरूमाथि ठगीसम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।