अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको दुर्गा भगवती गाउँपालिका–३ मा सामाजिक सुरक्षा भत्ता वितरणमा भएको अनियमिततामा संलग्न भएको आरोपमा ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार ठाकुर, वडा अध्यक्ष धर्मेन्द्रकुमार झा र वडा सचिव उमेश चौधरीसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार आर्थिक वर्ष २०७४/७५ देखि २०८१/८२ सम्म ज्येष्ठ नागरिक, एकल महिला तथा विधवा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा कानुनी मापदण्ड नपुगेका व्यक्तिहरूलाई समेत लाभग्राही सूचीमा समावेश गरिएको पाइएको छ ।
अनुसन्धानका क्रममा आवश्यक कागजातबिना लाभग्राही कायम गरिएको, सरकारी अभिलेखमा गलत विवरण प्रविष्ट गरिएको, एउटै व्यक्तिलाई फरक–फरक नामबाट भत्ता उपलब्ध गराइएको तथा उमेर नपुगेका व्यक्तिलाई ज्येष्ठ नागरिक भत्ता र पति जीवित रहेका महिलालाई एकल महिला तथा विधवा भत्ता वितरण गरिएको खुलेको आयोगले जनाएको छ ।
आयोगका अनुसार सामाजिक सुरक्षा व्यवस्थापन सूचना प्रणाली (एसएसएमआईएस) मा समेत झूटा विवरण प्रविष्ट गरी मिलेमतोमा ३२ लाख २३ हजार ८२१ रुपैयाँ बराबरको सार्वजनिक रकम हिनामिना गरिएको छ । उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कसुर ठहर गर्दै आयोगले संलग्न व्यक्तिहरूविरुद्ध विशेष अदालतमा अभियोग दायर गरेको जनाएको छ ।
आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार ठाकुरविरुद्ध २९ लाख ४३ हजार ८२१ रुपैयाँ बिगो कायम गरी कैद, जरिवाना र बिगो असुलउपरको माग गरेको छ । त्यस्तै, वडा अध्यक्ष धर्मेन्द्रकुमार झा र वडा सचिव उमेश चौधरीविरुद्ध ३२ लाख २३ हजार ८२१ रुपैयाँ बिगो कायम गरी कैद, जरिवाना तथा बिगो असुलउपरको माग गरिएको आयोगले जनाएको छ ।
सामाजिक सुरक्षा भत्ता गैरकानुनी रूपमा लिएका अन्य व्यक्तिहरूविरुद्ध पनि बिगोअनुसार कैद, जरिवाना र रकम असुलउपरको माग गरिएको छ।
आयोगले सामाजिक सुरक्षा भत्ता वितरणमा देखिएको अनियमितताले सार्वजनिक स्रोतको दुरुपयोग र अभिलेख व्यवस्थापनमा गम्भीर कमजोरी देखाएको भन्दै यस्ता कार्यमा संलग्नमाथि कानुनी कारबाहीलाई निरन्तरता दिने जनाएको छ ।