जनकपुरधाम । मधेस प्रदेशमा वर्तमान तीन दलीय गठबन्धन सरकारले नै निरन्तरता पाउने भएको नेपाली कांग्रेस संसदीय दलका मुख्य सचेतक कुवरकान्त झाले दाबी गरेका छन् ।
शुक्रबार रातोपाटीसँग कुरा गर्दै मुख्य सचेतक झाले कांग्रेस सभापति शेरबहादुर देउवासँग सातवटै प्रदेशका मुख्यमन्त्रीहरूको छलफल भएको र सोही क्रममा मधेस प्रदेशमा कायम रहेको तीन दलीय गठबन्धनलाई निरन्तरता दिने सहमति भएको बताए ।
हाल मधेस प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गरिरहेको छ । कांग्रेसका कृष्णप्रसाद यादव नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को समर्थनमा मुख्यमन्त्री छन् ।
मुख्य सचेतक झाले केन्द्र सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारका गतिविधि तानाशाही उन्मुख रहेको आरोप लगाए । मधेसको ठूलो बलिदानीबाट प्राप्त संघीयता, समानुपातिक तथा समावेशी अधिकारमाथि कुनै प्रकारको कटौती गरिए त्यसले ठूलो विद्रोह निम्त्याउने चेतावनी पनि उनले दिए ।
उनले प्रेस स्वतन्त्रतामाथि समेत नियन्त्रणको प्रयास भइरहेको अनुभूति भएको उल्लेख गर्दै प्रेसमाथि कुनै प्रकारको सेन्सरसिप स्वीकार्य नहुने र त्यसविरुद्ध आवश्यक संघर्ष गर्न कांग्रेस पछि नहट्ने बताए ।
मुख्य सचेतक झाले प्रदेशहरूलाई प्रतिपक्षविहीन बनाउने प्रयास लोकतान्त्रिक मूल्य–मान्यताविपरीत हुने धारणा राख्दै प्रदेश सरकार परिवर्तनको विषयमा केन्द्रमा राजनीतिक दलहरूबीच छलफल जारी रहेको जानकारी दिए ।