वीरगंज महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा ६७ करोड ५९ लाख ६४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
राजस्व महाशाखा प्रमुख मनोज कर्णका अनुसार उक्त रकम अघिल्लो आर्थिक वर्षको तुलनामा करिब साढे चार करोड रुपैयाँले बढी हो । महानगरले आर्थिक वर्ष २०८१/८२ मा ६२ करोड ९३ लाख ८५ हजार रुपैयाँ आन्तरिक राजस्व सङ्कलन गरेको थियो । पछिल्लो वर्ष राजस्व सङ्कलनमा वृद्धि भए पनि महानगरले निर्धारण गरेको लक्ष्य भने पूरा हुन सकेन ।
महानगरले आर्थिक वर्ष २०८२/८३ का लागि करिब १ अर्ब ७५ करोड रुपैयाँ आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । तर वास्तविक सङ्कलन लक्ष्यको आधाभन्दा पनि निकै कम रहेको छ ।
वीरगंज महानगरको विगत आठ वर्षको राजस्व अवस्थाले पनि आन्तरिक आम्दानी वार्षिक करिब ६० करोड रुपैयाँको हाराहारीमा सीमित रहेको देखाउँछ । तर महानगरले हरेक वर्ष आफ्नो वास्तविक क्षमताभन्दा दुईदेखि तीन गुणासम्म बढी राजस्व लक्ष्य निर्धारण गर्दै आएको छ । स्थानीय तहको वित्तीय व्यवस्थापनमा यथार्थपरक राजस्व प्रक्षेपण महत्वपूर्ण मानिन्छ । तर महानगरले सम्भावित आम्दानीभन्दा उच्च लक्ष्य निर्धारण गर्दा बजेट निर्माण र कार्यान्वयनमा समस्या देखिँदै आएको छ ।
आन्तरिक स्रोतबाट अपेक्षित आम्दानी नउठ्दा विकास निर्माण, सेवा प्रवाह तथा विभिन्न योजनाको कार्यान्वयनमा समेत असर पर्ने गरेको जानकारहरू बताउँछन् । उनीहरूका अनुसार आर्थिक गतिविधि, करदाताको अवस्था र वास्तविक राजस्व क्षमतालाई आधार बनाएर लक्ष्य निर्धारण गर्न आवश्यक छ ।
राजस्व लक्ष्य र वास्तविक सङ्कलनबीचको ठूलो अन्तर कम गर्न करको दायरा विस्तार, राजस्व चुहावट नियन्त्रण र प्रभावकारी प्रशासन आवश्यक रहेको बताएको छ ।
महानगरले चालू आर्थिक वर्षका लागि पनि उच्च राजस्व अनुमानसहित बजेट तयार पारेको छ । तर विगतको प्रवृत्तिलाई हेर्दा यथार्थपरक लक्ष्य निर्धारण नगरेसम्म राजस्व वृद्धि र बजेट कार्यान्वयन चुनौतीपूर्ण रहने देखाएको छ ।