आकर्षक तलबसहित वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने प्रलोभन देखाएर ९ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दाङ घर भई काठमाडौं टोखा बस्ने ३२ वर्षीय पवन कुमार केसी (बिक्रम), रौतहट घर भई काठमाडौं महानगरपालिका–३ बस्ने २१ वर्षीय सुधिर प्रसाद जयसवाल र काभ्रे घर भई काठमाडौं महानगरपालिका–२५ बस्ने ३८ वर्षीया लक्ष्मी खड्का रहेका छन् ।
प्रहरीका अनुसार पवनले सिंगापुर पठाइदिने भन्दै दुई जनाबाट ७ लाख रुपैयाँ, सुधिरले साइप्रस पठाइदिने भन्दै एक जनाबाट १ लाख रुपैयाँ र लक्ष्मीले रोमानिया पठाइदिने भन्दै एक जनाबाट १ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए ।
पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाएको जनाएको छ ।