उपकार सेवा नेपालले वीरगंज महानगरपालिका–२, छपकैयाका शारीरिक रूपमा पूर्ण अपाङ्गता भएका एक असहाय व्यक्तिलाई ह्विलचेयर सहयोग प्रदान गरेको छ ।
उक्त ह्विलचेयर उपकार सेवा नेपाल तथा श्रीमती पुष्पा गाडीयाको आर्थिक सहयोगमा उपलब्ध गराइएको हो । उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगीले एक कार्यक्रमका बीच लाभग्राहीलाई ह्विलचेयर हस्तान्तरण गर्नुभयो ।
हस्तान्तरण कार्यक्रममा संस्थाका सदस्य सुमन बगेडिया, समाजसेवी प्रकाश थारु, राजन श्रीवास्तव, रिसु वर्मा, सुरज सर्राफ, अमर सर्राफलगायत स्थानीय समाजसेवी तथा भद्रभलादमीहरूको उपस्थिति रहेको थियो ।
उपकार सेवा नेपालले यसअघि पनि विभिन्न दुर्गम तथा ग्रामीण क्षेत्रमा पुगेर असहाय, विपन्न तथा आवश्यकतामा रहेका व्यक्तिहरूलाई आवश्यकता अनुसार स्वास्थ्य सामग्री, राहत तथा अन्य सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ । संस्थाले आगामी दिनमा पनि सामाजिक सेवाका यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।