‘उपकार सेवा नेपाल’को पहल तथा ‘Queen Jewels Pvt. Ltd.’ को सहकार्यमा बाराको कलैया उपमहानगरपालिका–२ निवासी पूर्ण अपाङ्गता भएका हिरालाल राउत कुर्मीलाई ह्वीलचेयर हस्तान्तरण गरिएको छ ।
कुर्मीलाई घरबाहिर आवतजावत गर्न तथा दैनिक हिँडडुल गर्न निकै कठिनाइ भइरहेको जानकारी प्राप्त भएपछि उपकार सेवा नेपालले उहाँका लागि यातायातको व्यवस्था गरी वीरगंज ल्याई सम्मानपूर्वक ह्वीलचेयर हस्तान्तरण गरेको थियो । सहयोग हस्तान्तरणपछि उहाँलाई पुनः सुरक्षित रूपमा घरसम्म पुर्याइएको संस्थाले जनाएको छ ।
उपकार सेवा नेपालकी अध्यक्ष विद्या देवी सरावगीको नेतृत्वमा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रममा समाजसेवी अमर सर्राफ, ‘बारा अपडेट’ अनलाइनका पत्रकार प्रह्लाद चौरासिया लगायत स्थानीयवासीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरूले यस्ता मानवीय सहयोगले अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवनलाई सहज बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । ह्वीलचेयर प्राप्त गरेपछि हिरालाल राउत कुर्मीको दैनिकी सहज हुने र उहाँको जीवनमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ ।