पर्साको वीरगंज महानगरपालिका–२४ स्थित बहुअरी चोक नजिकै हुलाकी सडकखण्डमा भएको सडक दुर्घटनामा ९ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
बुधबार राति पावरहाउसतर्फबाट तिलावे पुलतर्फ जाँदै गरेको ना २ ह ६६८२ नम्बरको ई–रिक्सालाई सोही दिशाबाट तीव्र गतिमा आएको भारतीय ग्याँस ट्याङ्करले पछाडिबाट ठक्कर दिएको थियो ।
RJ 14 GE 8710 नम्बरको भारतीय ग्याँस ट्याङ्करले ठक्कर दिँदा ई–रिक्सामा सवार ९ जना यात्रु घाइते भएका हुन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर र ३ जनाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
दुर्घटनापछि उद्धार गरिएका सबै घाइतेलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी न्युरो अस्पतालमा भर्ना गरिएको छ । दुर्घटना गराएर फरार भएको ट्याङ्कर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्ने चालक भारतको मुजफ्फरपुर जिल्ला साहेबगञ्ज निवासी ४८ वर्षीय धनेश्वर राय रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चालक रायको स्वास्थ्य परीक्षण गर्दा उनले मादक पदार्थ सेवन गरी सवारी चलाएको पुष्टि भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।