डिभिजन वन कार्यालय बाराले आर्थिक वर्ष २०८१/८२ मा उत्पादन गरेका विभिन्न प्रजातिका ५ हजार बिरुवा छिमेकी जिल्ला रौतहट र पर्सामा निःशुल्क उपलब्ध गराएको छ ।
सडक किनार, सार्वजनिक तथा निजी जग्गामा वृक्षारोपण गरी हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले ती बिरुवा पठाइएको डिभिजन वन कार्यालय बाराले जनाएको छ । कार्यालयका अनुसार रौतहटको परोहा नगरपालिकाका लागि २ हजार र पर्साको जगरनाथपुर गाउँपालिकाका लागि ३ हजार बिरुवा उपलब्ध गराइएको छ ।
डिभिजन वन कार्यालय बाराका डिभिजनल वन अधिकृत सुजितकुमार झाले सम्बन्धित स्थानीय तहको मागका आधारमा बिरुवा उपलब्ध गराइएको जानकारी दिए । परोहा नगरपालिकाले सडक किनार तथा सार्वजनिक र निजी जग्गामा वृक्षारोपण गर्न बिरुवा माग गरेको थियो भने जगरनाथपुर गाउँपालिकाले पनि आफ्नो क्षेत्रको हरियाली विस्तारका लागि बिरुवा माग गरेको थियो ।
डिभिजन वन कार्यालय बाराका अनुसार बारामा उत्पादन हुने वन प्रजातिका बिरुवाको माग छिमेकी जिल्लाबाट नियमित रूपमा आउने गरेको छ । विशेषगरी बारासँग भौगोलिक रूपमा जोडिएका रौतहटको दक्षिणी क्षेत्र र पर्साको उत्तरी क्षेत्रमा बाराको नर्सरीमा उत्पादन भएका बिरुवाको माग बढी हुने गरेको कार्यालयले जनाएको छ ।
भौगोलिक अवस्था र हावापानीमा समानता भएकाले बारामा उत्पादन गरिएका विभिन्न प्रजातिका बिरुवा छिमेकी जिल्लाका क्षेत्रमा वृक्षारोपणका लागि उपयुक्त हुने गरेको वन कार्यालयको भनाइ छ । बिरुवा निःशुल्क उपलब्ध गराउँदा स्थानीय तह र समुदायलाई हरियाली विस्तार गर्न सहयोग पुग्नुका साथै सार्वजनिक तथा निजी जग्गाको संरक्षणमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।
सडक किनारमा वृक्षारोपण विस्तार हुँदा वातावरण संरक्षण, सौन्दर्यीकरण र हरित क्षेत्र विस्तारमा सकारात्मक प्रभाव पर्ने देखिएको छ । डिभिजन वन कार्यालय बाराले आफ्नो नर्सरीमा उत्पादन भएका बिरुवा जिल्लाभित्र मात्र नभई मागका आधारमा छिमेकी जिल्लामा समेत उपलब्ध गराउँदै आएको जनाएको छ ।