स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर अन्यत्र सार्न लागिएको भन्ने विषयमा कुनै सत्यता नरहेको स्पष्ट पार्नुभएको छ ।
सोमबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक, शून्य तथा विशेष समयमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री मेहताले ढल्केबरमै सुविधासम्पन्न ट्रमा सेन्टर निर्माण गरिने बताउनुभयो । ढल्केबरमा ट्रमा सेन्टर निर्माण सम्पन्न हुन केही समय लाग्ने भएकाले तत्कालका लागि सिरहाको लहानस्थित प्रादेशिक अस्पतालमा अस्थायी प्रकृतिको ट्रमा युनिट सञ्चालन गर्न लागिएको उहाँले स्पष्ट पार्नुभयो। त्यसैले यस विषयमा भ्रममा नपर्न उहाँले आग्रह गर्नुभयो ।
मन्त्री मेहताका अनुसार लहान प्रादेशिक अस्पतालमा सिटी स्क्यान, आवश्यक जनशक्ति, ब्लड बैंक तथा बिरामीको पर्याप्त चाप रहेकाले तत्काल ट्रमा युनिट सञ्चालन गर्न सहज हुनेछ। ढल्केबरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको दीर्घकालीन प्रक्रिया भने अघि बढिसकेको उहाँले बताउनुभयो । लहानमा सञ्चालन हुने ट्रमा युनिट ढल्केबरको विकल्प नभएको स्पष्ट पार्दै मन्त्री मेहताले ढल्केबरमा भौतिक पूर्वाधार तयार नहुँदासम्मका लागि मात्र अन्तरिम र व्यावहारिक व्यवस्थाका रूपमा लहानमा सेवा विस्तार गर्न लागिएको बताउनुभयो ।
एउटा स्थानमा दीर्घकालीन पूर्वाधार निर्माण भइरहँदा अर्को स्थानमा तत्काल सेवा विस्तार गर्नु विरोधाभास नभएको भन्दै उहाँले यस विषयलाई क्षेत्रगत प्रतिस्पर्धा वा विवादका रूपमा नलिन आग्रह गर्नुभयो । मन्त्री मेहताले अनावश्यक विरोध वा आन्दोलन नगर्न तथा नागरिकलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यमा सहयोग गर्न जनप्रतिनिधि र सम्बन्धित पक्षलाई अनुरोधसमेत गर्नुभयो।
ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर अन्यत्र सार्न लागिएको भन्दै स्थानीयवासीले सोमबार पूर्व–पश्चिम राजमार्गसमेत अवरुद्ध गरेका थिए।