महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी र नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टबीच शिष्टाचार भेटवार्ता भएको छ ।
मन्त्रालयमा भएको भेटमा नेपाल–अष्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ र परिणाममुखी बनाउने विषयमा छलफल भएको थियो ।
भेटका क्रममा महिला सशक्तीकरण, बाल अधिकार तथा संरक्षण, अपाङ्गता समावेशीकरण, सामाजिक सुरक्षा, हेरचाह अर्थतन्त्र (केयर इकोनोमी), मानव संसाधन विकास तथा नीतिगत अनुभव आदानप्रदानका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
मन्त्री बादीले नेपाल र अष्ट्रेलियाबीच कूटनीतिक सम्बन्ध स्थापनादेखि नै मैत्रीपूर्ण र सौहार्दपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गर्दै आगामी दिनमा सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् । उनले शिक्षा, मानव विकास, सुशासन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका क्षेत्रमा अष्ट्रेलियाले नेपाललाई गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरिन् ।
अष्ट्रेलियाको छात्रवृत्ति कार्यक्रममार्फत नेपाली विद्यार्थी, अनुसन्धानकर्ता, पेसाकर्मी तथा सरकारी कर्मचारीको ज्ञान, सीप र क्षमता विकासमा महत्वपूर्ण योगदान पुगेको उल्लेख गर्दै मन्त्री बादीले यसले नीति निर्माण, कार्यान्वयन र सार्वजनिक सेवा प्रवाहमा सकारात्मक प्रभाव पारेको बताइन् ।
सामाजिक सुरक्षा र हेरचाह अर्थतन्त्रबीचको सम्बन्धबारे चर्चा गर्दै उनले महिलाले घरायसी तथा हेरचाहका क्षेत्रमा पुर्याउँदै आएको योगदानलाई आर्थिक रूपमा पहिचान र मूल्याङ्कन गर्नुपर्ने आवश्यकता औंल्याइन् ।
मन्त्री बादीले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई विकास सहयोगमा मात्र सीमित नराखी प्रविधि हस्तान्तरण, नीतिगत अनुभव आदानप्रदान, संस्थागत क्षमता विकास र जनस्तरको सम्बन्ध विस्तारसहितको साझेदारीका रूपमा अघि बढाउनुपर्ने बताइन् ।
भेटमा राजदूत अन्स्र्टले नेपाल–अष्ट्रेलियाबीचको सहकार्यको महत्व उल्लेख गर्दै आपसी हित र प्राथमिकताका क्षेत्रमा सहकार्यलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।