गण्डकी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ परेका छन् ।
उनलाई काठमाडौंको सानो भर्याङ क्षेत्रबाट पक्राउ गरिएको हो । सर्वोच्च अदालतले मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
के हो मुद्दा ?
वि.सं. २०६१ मा दीपक मनाङे (असल नाम राजीव गुरुङ) र उनको समूहले मिलन गुरुङ (चक्रे मिलन)माथि आक्रमण गरेको आरोपमा मुद्दा दायर भएको थियो । उक्त घटनामा मनाङेले मिलन गुरुङलाई तरबार प्रहार गरेको अभियोग लागेको थियो। जिल्ला सरकारी वकिल कार्यालयले मनाङे र उनको समूहविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो, तर जिल्ला अदालत काठमाडौंले यो मुद्दालाई कर्तव्य ज्यान नभई सामान्य कुटपिटको ठहर गर्दै मनाङेलाई २ वर्षको जेल सजाय सुनाएको थियो ।
सरकारी वकिल कार्यालयले जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन अदालत पाटनमा पुनरावेदन गरेको थियो । पुनरावेदन अदालतले २०६९ मा मनाङेलाई ज्यान मार्ने उद्योग (प्रयास) गरेको ठहर गर्दै ५ वर्षको जेल सजाय सुनायो। अरू चारजनालाई भने सफाइ दिने जिल्ला अदालतको फैसलालाई सदर गरियो ।
सर्वोच्च अदालतले पुनरावेदनको फैसलालाई २०७५ मा सदर गरेको थियो । त्यसपछि, कानून अनुसार १० वर्षभन्दा कम सजायको मुद्दामा जेलबाहिर पुर्पक्ष गर्न पाउने प्रावधानका कारण मनाङे रिहा भएका थिए ।
सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको समयमा नै दीपक मनाङे गण्डकी प्रदेशसभा सदस्यमा दुईपटक निर्वाचित भएका थिए र विभिन्न पटक मन्त्री पदमा पनि रहे ।