पर्सामा पछिल्ला केही दिनयता ज्वरोका बिरामीको सङ्ख्या बढेको छ । वर्षायामसँगै बढेको गर्मी तथा वातावरणीय परिवर्तनका कारण ज्वरोका बिरामी बढेपछि जिल्लाका स्वास्थ्य संस्थामा उपचारका लागि आउने बिरामीको चापसमेत बढेको हो ।
स्थानीयका अनुसार कतिपय घरमा एकैपटक दुईदेखि तीन जनासम्म ज्वरोका कारण बिरामी परेका छन् । ज्वरोसँगै शरीर दुख्ने, सामान्य रुघाखोकी लाग्ने, कमजोरी महसुस हुनेलगायतका लक्षण देखिने गरेको उनीहरूले बताएका छन् ।
पोखरिया प्रादेशिक अस्पतालका चिकित्सक डा. सुरेश यादवका अनुसार पछिल्ला केही दिनयता अस्पतालमा ज्वरोका बिरामीको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ । उनका अनुसार दैनिक ६० देखि ७० जनासम्म ज्वरोका बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन् । बिरामीको सङ्ख्या बढेसँगै स्वास्थ्य परीक्षण तथा उपचारका लागि अस्पताल आउने सेवाग्राहीको चापसमेत बढेको डा. यादवले बताए ।
वर्षायाममा दूषित पानी, सरसफाइको कमी तथा वातावरणीय परिवर्तनका कारण विभिन्न प्रकारका सङ्क्रमण फैलिन सक्ने चिकित्सकहरूको भनाइ छ । उनीहरूले पानी उमालेर वा शुद्धीकरण गरेर पिउन, व्यक्तिगत तथा घर वरपरको सरसफाइमा विशेष ध्यान दिन र खानपानमा सावधानी अपनाउन सुझाव दिएका छन् ।
चिकित्सकहरूले ज्वरो आएमा आफूखुसी औषधि सेवन नगरी स्वास्थ्य संस्थामा गई आवश्यक परीक्षण गराउन तथा स्वास्थ्यकर्मीको सल्लाहअनुसार उपचार गर्न आग्रह गरेका छन् । लामो समयसम्म ज्वरो नघटेमा वा अन्य जटिल लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्नसमेत उनीहरूले सुझाव दिएका छन् ।