काठमाडौं। हानी मुख्तारले दोस्रो हाफमा दुई गोल गरेपछि नासभिल एससीले लिओनल मेसी सम्मिलित इन्टर मियामीलाई ४–१ गोलले पराजित गरेको छ ।
आइतबार बिहान भएको खेलमा इस्टर्न कन्फरेन्सका शीर्ष दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो । जितसँगै नासभिलले एमएलएसको शीर्ष स्थानमा आफ्नो पकड कायम राखेको छ ।
मेसीले आफ्ना पिता जोर्गे मेसीको अगस्ट ८ मा ६८ वर्षको उमेरमा निधन भएपछि पहिलोपटक इन्टर मियामीको सुरुआती टोलीबाट खेल सुरु गरेका थिए । यसअघि अगस्ट १२ मा क्लब लियोनविरुद्ध ३–२ ले पराजित भएको खेलमा उनी दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए ।
खेलको २३औँ मिनेटमा मेसीले इन्टर मियामीलाई अग्रता दिलाउने अवसर पाएका थिए । तर, उनको पेनाल्टी प्रहार नासभिलका गोलरक्षक ब्रायन स्वाकले बचाए । रिबाउन्डमा सर्जियो रेगुइलोनले गोल गरे पनि उनी पेनाल्टी क्षेत्रमा समयभन्दा अगाडि प्रवेश गरेको ठहर भएपछि गोलले मान्यता पाएन ।
नासभिलले १६औँ मिनेटमै अग्रता बनाएको थियो । एन्डी नाजारले एलियास सादको पासमा हेडमार्फत गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाएका थिए ।
दोस्रो हाफको सुरुआतमै इन्टर मियामीले खेल बराबरी गर्यो। ४८औँ मिनेटमा टेलास्को सेगोभियाले उत्कृष्ट स्पिन मुभमार्फत गोल गर्दै खेल १–१ को स्थितिमा पुर्याए ।
तर, त्यसपछि नासभिलले लगातार तीन गोल गर्यो। मुख्तारले सादको पासमा गोल गर्दै नासभिललाई २–१ को अग्रता दिलाए । त्यसको आठ मिनेटपछि साम सुरिजले पछाडिको एडीबाट आकर्षक गोल गर्दै घरेलु टोलीको अग्रता ३–१ बनाए। यो उनको यस सिजनको १२औँ गोल थियो ।
६२औँ मिनेटमा इन्टर मियामीका गोलरक्षक रोको रियोस–नोभोले गोल किकको क्रममा बलको अनुमान गर्न नसक्दा लडे । त्यसको फाइदा उठाउँदै मुख्तारले खुकुलो बल नियन्त्रणमा लिएर गोल गरेपछि नासभिलले ४–१ को स्पष्ट अग्रता बनायो ।
मेसी इन्टर मियामीमा आबद्ध भएयता नासभिलले उक्त टोलीविरुद्ध हात पारेको यो दोस्रो जित हो ।