सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई सदनमा उपस्थित हुन रुलिङ गरेका छन् ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीको व्यवस्थाअनुसार प्रधानमन्त्रीलाई सदनमा उपस्थित भई सांसदका प्रश्नको जवाफ दिन निर्देशन दिएका हुन् । सांसदहरूले विभिन्न समसामयिक विषय तथा सरकारको कार्यशैलीलाई लिएर उठाएका प्रश्नको सम्बोधन नभएको भन्दै ध्यानाकर्षण गराएपछि सभामुखबाट यस्तो रुलिङ आएको हो ।
सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीको नियम ५६ अनुरूप प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा तथा नियम ५७, ५८ र ५९ को प्रावधानबमोजिम सांसदहरूले राखेका जिज्ञासा र प्रश्नहरूको उत्तर दिन प्रधानमन्त्रीलाई निर्देशन दिएका हुन् ।
‘प्रतिनिधि सभा नियमावलीको नियम ५६, ५७, ५८ र ५९ मा भएको व्यवस्थाबमोजिम माननीय सांसदहरूले उठाउनुभएका प्रश्नहरूको जवाफ दिन म प्रधानमन्त्रीज्यूलाई रुलिङ गर्दछु,’ सभामुख अर्यालले बैठकमा भने । नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको व्यवस्था छ भने नियम ५७ देखि ५९ सम्म प्रश्नको सूचना, मर्यादा तथा उत्तर दिने प्रक्रियासम्बन्धी व्यवस्था गरिएको छ ।
पछिल्लो समय सदनमा सांसदहरूले उठाएका प्रश्नको जवाफ सरकारका तर्फबाट नआएको भन्दै सांसदहरूले नियमापत्ति जनाउँदै आएका थिए । सोही विषयलाई सम्बोधन गर्दै सभामुखले प्रधानमन्त्रीलाई सदनमा उपस्थित भई जवाफ दिन निर्देशन दिएका हुन् ।