सप्तरी | सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालबाट स्वास्थ्य बिमा कार्यक्रममार्फत आर्थिक वर्ष २०८२/८३ मा ३५ हजार ८६२ जनाले स्वास्थ्य सेवा लिएका छन् ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. वीरेन्द्रकुमार मण्डलका अनुसार स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा रहेकाले उपचारका लागि आउने सर्वसाधारणको आर्थिक भार कम गर्न सहयोग पुगेको छ । अस्पतालले स्वास्थ्य बिमासँगै सामाजिक सेवा इकाइमार्फत विपन्न तथा लक्षित वर्गका नागरिकलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।
अस्पतालका सामाजिक सेवा इकाइ प्रमुख सूर्यकान्त झाले अस्पतालमा सुलभ फार्मेसी सेवासमेत सञ्चालनमा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०८२/८३ मा अस्पतालको बहिरङ्ग (ओपीडी) सेवाबाट ६९ हजार ९२७, आकस्मिक सेवाबाट ११ हजार ६०० र अन्तरङ्ग (इन्डोर) सेवाबाट चार हजार २८२ जनाले सेवा लिएका छन् । उक्त अवधिमा अस्पतालबाट सेवा लिने बिरामीको कुल सङ्ख्या ८५ हजार ८०९ पुगेको छ ।
अस्पतालमा मेडिसिन, बालरोग, अर्थोपेडिक, स्त्री तथा प्रसूति, सर्जरी, दन्त, छाला, नाक–कान–घाँटी, फिजियोथेरापी तथा नेत्ररोगसम्बन्धी विभाग सञ्चालनमा छन् । प्रयोगशालातर्फ ओपीडी तथा आकस्मिक प्रयोगशाला तथा रेडियोलोजीतर्फ एक्स–रे, सिटी स्क्यान, अल्ट्रासाउन्ड र ईसीजी सेवा उपलब्ध रहेको अस्पतालले जनाएको छ ।
अस्पतालमा २० शय्याको आकस्मिक कक्ष, १२ शय्याको एचडीयु, चार शय्याको एसएनसियु तथा विभिन्न वार्डसहित कुल १२८ शय्याबाट सेवा प्रदान हुँदै आएको छ । मेडिकल वार्डमा २४, जेरियाट्रिकसहित बालरोग वार्डमा १३, स्त्री तथा प्रसूति वार्डमा १३, सर्जिकल वार्डमा १२ तथा ओटी पोस्टअप वार्डमा १० शय्या सञ्चालनमा छन् ।
उक्त आर्थिक वर्षमा अस्पतालबाट एक हजार ७३४ जनाले सामान्य प्रसूति र ६९९ जनाले शल्यक्रियामार्फत प्रसूति सेवा लिएका छन् । पोषण पुनर्स्थापना केन्द्रबाट १८७ जना तथा डायलाइसिस सेवाबाट ७७ जना बिरामीलाई सेवा प्रदान गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालको तथ्याङ्कअनुसार एचडीयुबाट ५६१, एसएनसियुबाट १६९, सामाजिक सेवा इकाइबाट दुई हजार ८३३ तथा एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट ५०० जनाले सेवा लिएका छन् । परिवार नियोजन तथा सुरक्षित गर्भपतन सेवाबाट दुई हजार ६३७ जनाले सेवा पाएका छन् ।
त्यसैगरी, अस्पतालको प्रयोगशालाबाट ४२ हजार ७९८, एक्स–रेबाट २४ हजार १३०, अल्ट्रासाउन्डबाट १५ हजार ७३८ तथा सिटी स्क्यानबाट दुई हजार ६५९ पटक सेवा प्रदान गरिएको छ । एआरटी केन्द्रबाट १६९ जनाले सेवा लिएका छन् ।
अस्पताल प्रशासनले स्वास्थ्य बिमा, सामाजिक सेवा तथा अन्य सहुलियतपूर्ण कार्यक्रमलाई प्रभावकारी बनाउँदै सर्वसाधारणको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने प्रयास भइरहेको जनाएको छ । स्वास्थ्य बिमाको उपयोग बढ्दै जाँदा उपचार खर्चका कारण स्वास्थ्य सेवा लिनबाट वञ्चित हुने अवस्था कम गर्न सहयोग पुगेको अस्पतालको भनाइ छ ।