प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन शाहसँग नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेटवार्ता गरेका छन् ।
मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–भारत सम्बन्ध तथा दुई देशका सेनाबीचको सहकार्यका विषयमा छलफल भएको जनाइएको छ । भेटवार्तामा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसमेत सहभागी थिए ।
प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा सेनाध्यक्ष सेठ चारदिने भ्रमणका लागि आइतबार काठमाडौं आएका हुन् । भ्रमणका क्रममा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए ।
नेपाल र भारतबीच सन् १९५० देखि एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा रहँदै आएको छ ।
यसअघि सोमबार नै प्रधान सेनापति अशोकराज सिग्देल र भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठबीच द्विपक्षीय भेटवार्ता भएको थियो । भेटमा दुई देशका सेनाबीचको पारस्परिक सम्बन्ध तथा सहकार्यका विषयमा छलफल भएको थियो ।