विराटनगर । संघीय संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिलकुमार पोखरेल ठगी आरोपमा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय, मोरङको टोलीले बिहीबार बिहान विराटनगरबाट उनलाई पक्राउ गरेको हो । सप्तरीका बौआलाल चौधरीलाई ठगी गरेको आरोपमा पोखरेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) नारायण चिमोरियाले जानकारी दिए ।
एमबीबीएस भर्नाको नाममा ठगी
एसपी चिमोरियाका अनुसार, अनिलकुमार पोखरेलले छोरीलाई एमबीबीएसमा भर्ना गराइदिने बहानामा चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ लिएको पाइएको छ। सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका-५ बकधुवाका चौधरीले पटकपटक गरेर पोखरेलको खातामा उक्त रकम जम्मा गरिदिएको बताएका छन् ।
रकम सापटी, पछि ठगी
२०७१ सालमा सापटीका रूपमा दिइएको रकम फिर्ता माग्दा पोखरेलले छोरीलाई एमबीबीएसमा भर्ना गराइदिने वाचा गरेका थिए । तर, पछि उल्टै पोखरेलले ५० लाख रुपैयाँ लिएको भनी चौधरीसँग कागज बनाएका थिए । सोही कागजातका आधारमा पोखरेलले चौधरीसँग थप रकम माग्ने गरेको चौधरीको आरोप छ ।
पक्राउ पुर्जी र पदबाट हटाइयो
यसअघि पुस १८ गते पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले उनलाई स्वकीय सचिव पदबाट हटाएका थिए । हाल पोखरेललाई ठगी मुद्दामा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, मोरङले नियन्त्रणमा राखेको छ । प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको जानकारी दिएको छ ।