वीरगञ्ज, । वीरगञ्जस्थित नारायणी अस्पतालमा गर्भवती तथा सुत्केरी आमाको थप हेरचाह, परामर्श र भावनात्मक सहयोगका लागि ‘केयर कम्प्यानियन प्रोग्राम’ सुरु गरिएको छ।
अस्पतालले ‘वन हार्ट वर्ल्डवाइड’सँगको सहकार्यमा कार्यक्रम सञ्चालनमा ल्याएको हो। कार्यक्रममार्फत गर्भावस्था, प्रसूति तथा सुत्केरी अवस्थाका महिलालाई आवश्यक स्वास्थ्य जानकारी, परामर्श तथा भावनात्मक सहयोग उपलब्ध गराउने उद्देश्य राखिएको छ।
अस्पतालका अनुसार गर्भवती तथा सुत्केरी आमाको स्वास्थ्य अवस्थालाई थप सहज र सुरक्षित बनाउन कार्यक्रमले सहयोग पुर्याउनेछ। स्वास्थ्यकर्मी तथा सहयोगीमार्फत आमाको आवश्यकता बुझ्ने, स्वास्थ्यसम्बन्धी जानकारी दिने र आवश्यक परामर्श उपलब्ध गराउने व्यवस्था कार्यक्रमअन्तर्गत गरिनेछ।
गर्भावस्थादेखि सुत्केरी अवस्थासम्म महिलालाई शारीरिक स्वास्थ्यसँगै मानसिक तथा भावनात्मक सहयोगको आवश्यकता हुने भएकाले अस्पतालले यसलाई सेवाको महत्वपूर्ण पक्षका रूपमा अघि बढाएको जनाएको छ।
कार्यक्रमले गर्भवती तथा सुत्केरी महिलालाई अस्पतालमा उपचार तथा प्रसूति सेवाका क्रममा आफूलाई सुरक्षित र सहज महसुस गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, आमा र नवजात शिशुको स्वास्थ्यसम्बन्धी आवश्यक जानकारी परिवारका सदस्यसम्म पुर्याउनसमेत कार्यक्रम प्रभावकारी हुने अस्पतालको विश्वास छ।
नारायणी अस्पतालले आमामैत्री स्वास्थ्य सेवा विस्तार गर्दै सुरक्षित मातृत्व र स्वस्थ नवजात शिशुका लागि विभिन्न पहल गर्दै आएको छ। ‘केयर कम्प्यानियन प्रोग्राम’ पनि सोही प्रयासको निरन्तरताका रूपमा सुरु गरिएको अस्पतालले जनाएको छ।
कार्यक्रमबाट गर्भवती तथा सुत्केरी आमाले स्वास्थ्यसम्बन्धी सही जानकारी र आवश्यक परामर्श समयमै पाउने भएकाले मातृ तथा नवजात स्वास्थ्य सुधारमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।