भारत–नेपाल सीमाबाट अवैध रूपमा नेपालतर्फ लैजान लागिएको २४ बोरा युरिया मलसहित एक जनालाई सशस्त्र सीमा बल (एसएसबी)ले पक्राउ गरेको छ ।
सीमा चौकी बडहरवाका जवानले मोटरसाइकल र साइकलमार्फत भारतबाट नेपालतर्फ युरिया मल तस्करी भइरहेको सूचना पाएपछि शुक्रबार बिहान विशेष गस्ती टोली परिचालन गरेको थियो । ७१औँ वाहिनी सशस्त्र सीमा बल, मोतिहारीका कमान्डेन्ट प्रफुल्ल कुमारको निर्देशनमा सहायक उपनिरीक्षक विजय कुमारको नेतृत्वमा पाँच सदस्यीय टोली करिब बिहान ५ः४५ बजे सीमा स्तम्भतर्फ परिचालन भएको थियो ।
गस्ती टोली सीमा स्तम्भ नजिक पुग्दै गर्दा एसएसबीको बलुवा पोस्ट र सैनिक रोडनजिक मिठाई पसलबीच ग्रामीणले बनाएको कच्ची बाटो हुँदै केही व्यक्तिले युरिया मलका बोरा नेपालतर्फ लैजाँदै गरेको देखेपछि उनीहरूलाई रोक्ने प्रयास गरिएको थियो । सुरक्षाकर्मी आफूहरूतर्फ आएको देखेपछि मल बोकेका व्यक्तिहरू मोटरसाइकल, साइकल र मलका बोरा छाडेर भाग्न थालेका थिए। त्यस क्रममा गस्ती टोलीले पूर्वी चम्पारण जिल्लाको बिजबनी पोस्टअन्तर्गत बलुवा गाउँका करिब ५० वर्षीय गोपाल रायलाई पक्राउ गरेको एसएसबीले जनाएको छ ।
त्यसपछि आसपासको क्षेत्रमा गरिएको खोजतलासका क्रममा विभिन्न स्थानबाट छाडेर भागेका २४ बोरा युरिया मल, चारवटा साइकल र एउटा प्लेटिना मोटरसाइकल बरामद गरिएको छ । बरामद सामग्री स्थानीयको उपस्थितिमा मुचुल्का तयार गरी आवश्यक कानुनी प्रक्रियाका लागि समवाय मुख्यालय लगिएको थियो । प्रारम्भिक कारबाहीपछि बरामद युरिया मल, साइकल र मोटरसाइकललाई आवश्यक कानुनी प्रक्रियाका लागि सीमा शुल्क कार्यालय, मोतिहारीमा बुझाउने प्रक्रिया अघि बढाइएको एसएसबीले जनाएको छ ।
पक्राउ परेका गोपाल रायविरुद्ध पनि नियमानुसार थप कानुनी कारबाही अघि बढाइएको जनाइएको छ । ७१औँ वाहिनी सशस्त्र सीमा बल, मोतिहारीले भारत–नेपाल सीमामा अवैध तस्करी, संदिग्ध गतिविधि तथा अन्य गैरकानुनी गतिविधि नियन्त्रण गर्न नियमित रूपमा विशेष गस्ती, नाका तथा निगरानी अभियान सञ्चालन गर्दै आएको जनाएको छ ।
एसएसबीले सीमा क्षेत्रका स्थानीयवासीलाई पनि कुनै किसिमको संदिग्ध वा अवैध गतिविधिबारे जानकारी प्राप्त भएमा नजिकैको सीमा चौकीलाई तत्काल सूचना दिन आग्रह गरेको छ ।