काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा पेस गरेको छुट्टाछुट्टै रिट शुक्रबार दर्ता हुन सकेन ।
पार्टी संस्थापन पक्षले एकलौटी रूपमा महाधिवेशनको प्रक्रिया अघि बढाएको दाबी गर्दै देउवा र खड्काले उत्प्रेषणको आदेश मागसहित सर्वोच्चमा रिट पेस गरेका थिए ।
दुवै रिट शुक्रबार दिउँसो खाजा समयपछि सर्वोच्च प्रशासनमा पेस गरिएको थियो । तर, अध्ययन पूरा नभएको भन्दै प्रशासनले रिट दर्ता नगरेको जनाइएको छ । रिट पेस गर्ने पक्षलाई सर्वोच्च प्रशासनले सोमबार पुनः आउन भनेको छ ।
निकट स्रोतका अनुसार शुक्रबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा। मनोज शर्मा र मुख्य रजिस्टार विमल पौडेल अदालतमा उपस्थित थिएनन् । रिटको विषय गम्भीर तथा महत्त्वपूर्ण भएकाले प्रशासनका प्रमुख पदाधिकारीको अनुपस्थितिमा तत्काल दर्ता नगरिएको स्रोतको दाबी छ ।
देउवा र खड्काले आफ्ना वारेसमार्फत रिट सर्वोच्चमा पेस गरेका हुन् । देउवाका तर्फबाट कांग्रेस नेता दीपक खड्का र पूर्णबहादुर खड्काका तर्फबाट अधिवक्ता श्रवणकुमारले रिट पेस गरेका थिए ।
रिटमा पार्टीको १५औँ महाधिवेशन अघि बढाउने क्रममा भएका निर्णय तथा प्रक्रियामाथि प्रश्न उठाउँदै त्यसलाई रोक्न उत्प्रेषणलगायतका आदेश जारी गर्न माग गरिएको छ ।
रिट शुक्रबार दर्ता नभएपछि अब सोमबार सर्वोच्च प्रशासनले त्यसको अध्ययन गरी दर्ता प्रक्रिया अघि बढाउने वा नबढाउने निर्णय गर्नेछ ।